अघिल्लो महिना पार्टीको मध्य पहाडी जिल्लाको अभियानका क्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओपीमाथि धनकुटामा आक्रमणको प्रयास भयो अनि अघिल्लो हप्ता नयाँ दलका अध्यक्ष रवि लामिछानेमाथि पनि पोखरामा आक्रमणको प्रयास भयो । झट्ट हेर्दा पुराना दलप्रति नागरिकहरुको विश्वास घट्दै गइरहेको भएपनि नयाँ दलमा भने नागरिकहरुको विश्वास थियो भनिएकै थियो । सामाजिक संजालतिर हेर्ने हो भने पनि रविको क्रेज अहिले नै सकिएको जस्तो लाग्दैन ।
तैपनि रविमाथि समेत आक्रमण भएको छ । रविमाथि जे प्रहार गरेको भएपनि त्यो आक्रमण नै थियो र किन नेपालमा नेतामाथि आक्रमणको श्रृखला बढ्छ भनेर चैं विश्लेषण गर्न जरुरी पनि देखिएको छ । नेता भनेको जनताकाबीचमा रहने व्यक्ति हो र नेता लोकप्रिय नै हुनुपर्दछ तर संसारका केही घटनाहरु हेर्दा निकै लोकप्रिय नेताहरुको पनि हत्या भएको छ । त्यसैले नेताका लागि सुरक्षा आवश्यक छैन भन्ने तर्क पनि उचित नहोला । नेपालको सन्दर्भमा चैं अब यो फेशन जस्तो देखिन्छ । नेतामाथि आक्रमण गर्दा चर्चामा आउने भएपछि पनि आक्रमणको श्रृखला बढेको हो कि भन्ने पनि देखिन्छ । ओली र रविमाथिको आक्रमण यसैको उदाहरण पनि हो । नेतालाई आक्रमण गर्दैमा बहादुरी चैं भइदैन । नेतालाई झापड हान्ने भनेकै निर्वाचनमा हो, चुनावमा चैं भोट हाल्न आतुर हुने अनि अघिपछि चैं नेतालाई गाली गर्ने नेपालीको प्रवृत्ति पनि ठीक छैन । त्यसैले नेतामाथिको आक्रमण भने अब लहड नै हो ।
















