वीरगञ्ज,नेकपा एमाले पर्साले जेनजी आन्दोलनका क्रममा वीरगञ्जमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न पार्टीका नेताकार्यकर्तालाई पार्टीमा निष्काशन गर्ने भएको छ ।सोमवार वीरगञ्जमा बसेको नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाचौँ पुर्ण बैठकले भदौं २३ र २४ को जेनजी आन्दोलनपछि विभिन्न माध्यमबाट राजिनामा दिएका र आगजनी तथा तोडफोडमा संलग्न पार्टी कार्यकर्ताहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको एमाले जिल्ला सचिव महेश दासले जानकारी दिनुभयो ।
एमाले जिल्ला अध्यक्ष डा. विशम्भरकुमार शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सुन्दरप्रसाद कुर्मीलाई प्रचार विभाग प्रमुखमा मनोनयन पनि गरेको दासले बताउनुभयो ।यस्तै बैठकले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि सर्वसम्मतिले चयन गर्ने र २७ गते काठमाडौंमा हुने महाधिवेशन उद्धाटन समारोहमा जिल्लाबाट व्यापक जनसहभागिता गराउने निर्णय पनि गरेको छ
बैठकमा बोल्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले आपसी द्वन्द्व हटाएर एकतावद्ध तरीकाले पार्टीका संगठनहरुले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी ओलीले जबजको सफल कार्यान्वयन गरी देश र मधेस प्रदेशमा एमालेलाई पहिलो पार्टी बनाएको दाबी पनि गर्नुभयो । आउदो निर्वाचनमा पनि नेकपा एमाले केपी ओलीकै नेतृत्वमा जाने दाबी गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु ओलीलाई कमजोर बनाउन लागि रहेको तर अगामी महाधिवेशन पछि पनि ओलीकै नेतृत्वमा जानुपर्ने बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुरप्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जय प्रकाश थारु, प्रदेश सभा सदस्य विणा शर्मा, पोखरिया नगरपालिकाका मेयर प्रधुम्न चौहान, सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता लगायतकाको पनि सहभागिता थियो ।


















