निजगढ,अविरल वर्षपछि निजगढको भमरा खोलामा आएको बाढीका कारण जंगलमा अलपत्र परेका निजगढ वडा नम्बर ६ र ७ का २४ जनालाई सशस्त्र प्रहरी निजगढले बिहीवार राति उद्धार गरेको छ ।जंगलमा घाँस दाउरा गरेर घर फर्किने क्रममा खोलाको बाढी तर्न नसकेर जंगलमै अलपत्र परेका बालबालिकासहित २४ जनाको राति ९.३० बजे उद्धार गरिएको सशस्त्र प्रहरीको विपद व्यवस्थापन बेस निजगढले जानकारी दिएको छ । बेसका प्रहरी नायब उपरीक्षक दिनेश शर्माले दिएको जानकारीअनुसार निजगढ वडा नम्बर ६ का १८ र वडा नम्बर ७ का ६ जनाको सकुशल उद्धार गरिएको हो ।प्रहरीले उनीहरुमध्ये केहीलाई बोकेर र केहीलाई डोरीको सहायताले नदी पार गराएको थियो ।निजगढ क्षेत्रमा बिहीवार साझबाट भएको अविरल वर्षपछि भमरा खोलामा अचानक आएको बाढीका कारण जंगल गएका स्थानीय साझदेखि नै खोला पारि नै रोकिएका थिए ।उद्धार कार्य सहयोग गर्न निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीसहित स्थानीय जनप्रतिनिधिहरुको टोली पनि राति नै भमरा खोलामा पुगेको थियो ।

















