निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने जनहित सामुदायिक वन उपभोक्ता समुह ३ महिनादेखि समितिका पदाधिकारी विहिन अवस्थामा रहेको छ ।नयाँ समिति गठन गर्न भनेर कार्तिक १० गते भएको उपभोक्ता समुहको साधारण सभाले अध्यक्ष चन्द्रिका पुलामी मगरको नेतृत्वमा रहेको तत्कालिन कार्यसमिति भंग गरेको र नयाँ कार्यसमिति पनि चयन गर्न नसकेपछि उपभोक्ता समुह लामो समयदेखि पदाधिकारी विहिन अवस्थामा रहेको हो ।साधारण सभाले नयाँ कार्यसमिति चयन गर्न नसकेपछि सबडिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासको संयोजकत्वमा पदाधिकारीहरुको सर्वसम्मत चयन गर्न भनेर वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, समितिका पूर्वअध्यक्ष बासुदेव तिमल्सिना र बालकृष्ण दर्लामी सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको थियो । निर्वाचन मण्डलले पटकपटक गरेको प्रयासका बाबजुद पनि अध्यक्ष लगायत अन्य पदमा सहमति हुने नसकेपछि समिति गठन हुन ढिलाई भएको सब डिभिजन वन कार्यालयका प्रमुख दासले जानकारी दिनुभयो ।सहमतिमा पदाधिकारी चयन गर्ने प्रयास विफल बनेपछि अब मतादन प्रकृयामार्फत पदाधिकारीहरुको चयन गरिने प्रक्रिया सुरु गरिने प्रमुख दासको भनाई छ । उहाँले केही दिनभित्र नै निर्वाचन मण्डलको बैठक बसेर निर्वाचन सम्बन्धि कार्यक्रम सार्वजनिक गरिने पनि बताउनुभयो । समितिको अध्यक्ष पदमा पूर्व अध्यक्ष चन्द्रिका मगर, उत्तरबहादुर पुलामी र खडकबहादुर आलेसहित ३ जनाले दावेदारी गर्दैआएकाछन । त्यसैगरी सचिव लगायत अन्य पदाधिकारीमा पनि आंकाक्षीहरुको संख्या धेरै रहेको बताइएको छ ।

Leave a Reply