राजन कुमार बानिया
पोखरिया,विभिन्न पार्टी परित्याग गरी पर्साको छिपहरमाई गाउँपालिकामा सयौं संख्यामा नेकपा एमाले प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरी उनीहरू एमालेमा प्रवेश गरेका हुन् । एमालेलाई आगामी स्थानीय तह , प्रदेश र संघमा अझै सशक्त बनाउँन पहल गर्ने प्रतिवद्धतासहित उनीहरू एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले छिपहरमाई गाउँ कमिटीले छिपहरमाई गाउँपालिकाको वडा नम्बर ३ जयमंगलापुरमा आयोजना गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला इन्चार्ज एवंम सांसद प्रभु हजराले नेपाली काँग्रेस र जसपा पार्टी प्रत्याग गरी पार्टी प्रवेश गर्नेलाई अवीर, फूलमाला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।एमाले प्रवेश गर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर २ बाट जसपाका धुरेन्द्र साह, पूर्वशिक्षक भरत साह कानु लगायत ५१ जना रहेका छन् । नेपाली काँग्रेसबाट वडा नम्बर ५ का सुदिप महतो केवटको अगुवाईमा ५१ जना, वडा नम्बर ४ तुल्सीवर्वाका सगिर मियाँ, अनि साहको अगुवाईमा ५१ जना, वडा नम्बर १ मिर्जापुरबाट कपिलदेव यादव, नरेश यादवको अगुवाईमा ५५ जना, वडा नम्बर ३ बाट ४५ जना गरी विभिन पार्टी प्रत्याग गरी सयौंको संख्यामा एमाले प्रवेश गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हजराले वर्तमान सरकार कुपोषणबाट ग्रस्त भएकाले जनताले कुनै आशा गर्न नहुने बताउनुभयो । ‘सरकारले भ्रष्टाचार बाहेक कुनै काम राम्रो गरेको छैन । देशमा मन्दी र बेरोजगारी बाहेक कुनै राम्रो गरेको छैन ।’ उहाँले भन्नुभयो । अब देश र जनतालाई बचाउने पार्टी नेकपा एमाले बाहेक कुनै शक्तिमा नदेखिएको उहाँको भनाइ छ ।नेकपा एमालेको मिसन २०८४ रहेकोले सबै गाउँ ठाउँबाट अघि बढेर मिशन पूरा गर्न अनुरोध समेत उहाँले आग्रह गर्नुभयो । उहाँले यस छिपहरमाई जस्तै देशैभरि नै नेकपा एमाले प्रवेश गर्ने लहर चलेकोले एमालेको सरकार पुनः नेतृत्वमा आउने दाबी गर्नुभयो ।नेकपा एमाले छिपहरमाई गाउँपालिका कमिटी उपाध्यक्ष किशोरी साह कानुको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष बिश्वम्भर शार्मा, संविधान सभा सदस्य जयप्रकाश थारु, केन्द्रीय सदस्य जालिम मियाँ, नेकपा एमाले जिल्ला सचिव एवम छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्तालगायत नेताले नवप्रवेसीहरुलाई स्वागत तथा शुभकामना दिएका थिए ।


















