प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुग्न अब दुई दिन मात्रै बाँकी छ । सरकारले यो एक वर्षमा के–कस्ता काम ग¥यो ? नागरिकबीच यस विषयमा छलफल हुन आवश्यक छ ।मुलुकको पछिल्लो बेथितिलाई हेर्ने हो भने, प्रचण्ड सरकारलाई समर्थन गर्न सक्ने अवस्था देखिँदैन । मिलिजुली सरकारका मन्त्रीहरुको क्रियाकलाप त झन उदेकलाग्दो छ । शुरुवाति दिनहरुमा केही राम्रा काम गर्छन कि भन्ने आशा गरिएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किरातीको पछिल्ला गतिविधि हेर्दा कतै उनीहरुको अवाञ्छीत हर्कतले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नैै धरापमा पो पर्ने हो कि भन्ने आशंका जन्माइदिएको छ ।जनताले समयमा मल, बीउ नपाउँदा यसपटकको कृषि उत्पादनमा समेत हस आउने अवस्था भएको छ । उता तराईमा साहू–महाजनले गरिबलाई मिटरब्याजमा पैसा लगाएर उठिबास गराएको विषयमा सरकारले छानविन आयोग गठन गरेर गरिबमारा मिटरब्याजीमाथि कारबाही हुन्छ भन्ने आशा आम नेपाली नागरिकले गरेको भए पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई नै राहत हुने गरी प्रतिवेदन बनाउन लगाएको आरोप लागेको छ ।प्रचण्ड सरकारका मन्त्रीहरु यो अवसर फेरि आउँदैन जस्तो गरी कमाउ धन्दामा लिप्त हुन थालेका छन् भने व्यवस्था विरोधी समूह अहिले यही मौकामा गणतन्त्रको घाँटी निमोठ्ने प्रयासमा लागेका छन् ।यति हुँदा पनि सरकारको चेत भने अझै आउन सकेको छैन । पर्यटनमन्त्री किरातीको पछिल्लो हर्कत हेर्ने हो भने उहाँ एक मिनेट पनि मन्त्रीको कुर्सीमा बस्न लायक देखिनुहुन्न । अर्बौं घाटामा रहेको नेपाल वायु सेवा निगमको गुणस्तर सुधार गर्नेभन्दा पनि ऋणमाथि ऋण बोकाउने मनसायले आन्तरिक उडानका लागि विमान किन्न चोर बाटोको प्रयोग गर्न लाग्नुले उहाँको नियतमाथि प्रश्न उठेको छ ।

Leave a Reply