सप्तरी,सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका– ११, बक्सा निवासी ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्ने क्रममा जमिनमुनि फसेपछि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
प्राप्त जानकारीअनुसार रेग्मी दुम्सी बस्ने प्वालभित्र छिर्ने क्रममा अड्कििनुभएको थियो । उहाँ लामो समयसम्म बाहिर ननिस्किएपछि सँगै गएका साथीहरूले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह तथा सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरू र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । सुरक्षाकर्मीहरूले करिब पाँच घण्टासम्मको कठिन उद्धार प्रयासपछि जमिनमुनि करिब २० मिटरभित्र फसेका रेग्मीलाई सकुशल बाहिर निकालेका हुन् ।
उद्धारपछि उनलाई थप उपचारका लागि धर्मेश्वर अस्पताल, ठेलियातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।सशस्त्र प्रहरीले जोखिमपूर्ण अवस्थामा पनि जनताको ज्यान जोगाउन निरन्तर तत्पर रहेको जनाएको छ ।



















