रुपन्देही । देशभर समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि ठेक्का तोड्ने कारबाही अघि बढाइरहेको सरकारले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आबद्ध कम्पनीले जिम्मा लिएको बुटवलको सडक निर्माणमा भने पुनः म्याद थप गरेको छ।
बुटवलको राजमार्ग चौराहा–गोलपार्क साढे तीन किलोमिटर सडक विस्तारको काम निर्धारित समयमा सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय बुटवलले चौथोपटक म्याद थप गर्दै आगामी मंसिर २९ गतेसम्मको समय दिएको हो।
रुपन्देही–५ का रास्वपा सांसद तौफिक अहमद खान आबद्ध बाबुल दर्शन मालिका जेभीले निर्माणको जिम्मा लिएको उक्त सडकको यसअघिको म्याद गत असोज २० गते सकिएको थियो।
सडक डिभिजन कार्यालयकी सूचना अधिकारी प्रज्ञा शर्माका अनुसार निर्माण कम्पनीसँग मंसिर २९ भित्र काम सम्पन्न गर्ने सहमति भएपछि अन्तिमपटक म्याद थप गरिएको हो।
हाल सडकको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत पुगेको छ। कम्पनीले हालसम्म २१ करोड रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेको छ। गोलपार्क क्षेत्रमा सर्भिस लेन निर्माण र मुख्य सडकको करिब एक किलोमिटर खण्डमा अन्तिम कालोपत्रे गर्न बाँकी छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालको गृहजिल्ला रुपन्देहीमै रहेको यो आयोजना लामो समयदेखि अलपत्र पर्दै आएको छ। काम नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्ने सरकारको नीतिबीच सत्तारूढ दलका सांसद आबद्ध कम्पनीलाई पटक–पटक म्याद थपिएको भन्दै सरकारी व्यवहारमाथि प्रश्न उठेको छ।
साढे तीन किलोमिटर सडक ६ लेनमा विस्तार गर्न २०७३ चैत १७ गते पहिलोपटक ५३ करोड ९७ लाख रुपैयाँभन्दा बढीमा ठेक्का सम्झौता भएको थियो। निर्धारित समयमा काम नभएपछि उक्त ठेक्का २०८१ वैशाखमा रद्द गरिएको थियो।
त्यसपछि २०८१ असोज १८ गते बाबुल दर्शन मालिका जेभीसँग ३३ करोड रुपैयाँमा नयाँ सम्झौता गरिएको थियो। तर, नयाँ सम्झौताअनुसार पनि काम सम्पन्न हुन नसक्दा आयोजना पुनः म्याद थपको अवस्थामा पुगेको हो।
सडक निर्माणमा भइरहेको ढिलाइका कारण बुटवलका स्थानीय, व्यवसायी तथा यात्रुले वर्षौंदेखि धुलो, हिलो र अव्यवस्थित आवागमनको समस्या भोग्दै आएका छन्। अब थपिएको समयसीमाभित्र निर्माण सम्पन्न हुने हो वा पुनः म्याद थपिने हो भन्ने चासो बढेको छ।

















