वीरगन्ज,बारामा भएको मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका दुईजना राष्ट्रिय अनुसंधान विभागका कर्मचारी भएको पुष्टी भएको छ । राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई बुधबारराति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो । पथलैयाबाट निजगढतर्फ ना २७ प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ । सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच बाराको सीमावर्ती भारतको घोडासहन– चैनपुर सडकमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जना विद्यार्थीको मृत्युु भएको छ । मृत्यु हुनेमा घोडासहन क्षेत्र बारवा खुर्द निवासी २३ वर्षिय श्यामसुन्दर कुमार रहेका छन् । तीव्र गतिमा रहेको पिकअप भ्यानले साईकलमा सवार छात्र श्यामसुन्दर कुमारलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्युु भएको घोडासहनका राहुल कुमारले बताउनुभयो । उनको मृत्यु पछि आक्रोसित स्थानीयबासीहरुले चैनपुर घोडासहन सडक अवरुद्ध गरेका थिए । श्यामसुन्दर कुमार स्थानीय एक कलेजमा बी. ए. मा अध्यनरत छात्र रहेको बुझिएको छ ।