नरेश गुप्ता
बरियारपुर,कलैया उपमहानगरपालिकामा मेयर पदको लागि राजनीतिक सत्तारुढ दलबीच उम्मेदवारी हात पार्न तछाडमछाड बढेपछि ५ दलीय गठबन्धनको औचित्यमाथि प्रश्न उठन थालेको छ ।
सत्तारुढ ५ दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा मेयर तथा उपमेयरमा गठबन्धन गरि जाने निर्देशन गरेपनि स्थानीय तहमा पार्टीका जिम्मेवार नेताहरुले नै आफ्नै दाबी नछाडेपछि गठबन्धनको औचित्यमाथि प्रश्न उठन थालेको हो ।
कलैया उपमहानगरपालिकामा सत्तारुढ तीन दल जसपा, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरुले बैठक बसेर आपसी समझदारीमा कलैया उपमहानगरपालिकाको मेयरको लागि उम्मेदवार छनौट गर्ने र गठबन्धनमा आवद्ध बाँकी अन्य दल कांग्रेस र जनमोर्चालाई पनि गठबन्धनमा सामेल गराउन गरेको प्रयास अहिले विफल बनेको छ ।
नेपाली कांग्रेस बाराका जिल्ला सभापती राजेश राय यादवले समेत केही दिन अगाडि दरबार होटलमा गठबन्धनसंग मिलेर जाने सहमति जनाए पनि त्यसको भोलिपल्टदेखि नै आफू कांग्रेसबाट कलैया उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने अडान लिएपछि ५ दलीय गठबन्धनमा किचलो बढेको हो ।
कलैयामा कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि कलैया उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा आआफ्नै उम्मेदवार छनौट गरिसकेको अवस्था छ । कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेस बाराले एक्कलै चुनाव लडने अडान लिएपछि गठबन्धनका दलभित्र अन्यौल बढेको बताइएको छ ।
कलैया नगरपालिकामा कांग्रेसबाट जिल्ला सभापती राजेश राय यादव, नेकपा एमालेबाट बिनोद साह, माओवादी केन्द्रबाट मुकेश साह, जसपा नेपालबाट प्रमोद गुप्ता, एकीकृत समाजवादीको तर्फबाट सुरेश मोदकको नाम मेयरको लागि सिफारिस भएको छ ।
५ दलीय गठबन्धनमा बढेको असमझदारीपछि जितपुरसिमरा, कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका लगायत अन्य स्थानीय तहमा गठबन्धन हुने सम्भावना न्यून हुँदै गएको छ । र गठबन्धनका दलहरुले आफ्ना छुट्टाछुट्टै उम्मेदवारको नाम सार्वजनिक गर्न थालेका छन ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गते स्थानीय चुनावको लागि मनोनयन दर्ता गर्ने समयसिमा निश्चित गरेको छ । मनोनयन दर्ताको समय नजिकिदै गर्दा राजनीतिक दलहरुलाई उम्मेदवारको टुङ्गो लगाउन सकस भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकामा ३९ हजार ६ सय ६२ पुरुष र ३० हजार ६ सय ९३ महिला तथा अन्य १ गरि जम्मा ७० हजार ३ सय ५६ मतदाताहरु रहेका छन ।