विशेषगरी सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य राखेको भए पनि आर्थिक वर्षको पहिलो तीन महिनामा आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा सीमित रहेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले साउन, भदौ र असोजमा बाढी तथा पहिरोको प्रभाव अनि निर्माण क्षेत्र अगाडि नबढेका कारणले अर्थतन्त्रमा सामान्य वृद्धि मात्रै रहेको उल्लेख गरेको छ।

मुलतः यो अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव २ प्रतिशतले मात्रै वृद्धि हो। पहिलो त्रैमासमा कृषि उत्पादन, विद्युत्, पर्यटन आगमन, यातायात क्षेत्र, स्वास्थ्य सेवा, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्रलाई थोरै सकारात्मक बनाएको हो ।

अर्थतन्त्रलाई मापन गर्ने १८ वटा सूचकहरूमध्ये निर्माण क्षेत्र शून्य दशमलव ३ प्रतिशतले संकुचनमा रहेको छ। त्यसबाहेक विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै २१ दशमलव ४ प्रतिशत वृद्धिदर रहेको छ।त्यस्तै औद्योगिक क्षेत्रको ६ दशमलव ७ प्रतिशत, आवास तथा भोजन सेवा क्षेत्र ६ दशमलव ३ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रको ५ दशमलव ७ प्रतिशत, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५ दशमलव ४ प्रतिशत रहेको छ। त्यस्तै पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५ दशमलव १ प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत रहेको छ। ६ वटा सूचकमा ऋणात्मक वृद्धि देखिएको छ।

Leave a Reply