पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को उचिडीमा रहेको फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड मनहर्वा शाखामा आइतवार राति चोरी भएको छ ।स्थानीय वेदरमण भट्टराईको घरमा रहेको कार्यालयको मुल गेटको ताला फोडेरभित्र पसेको चोरहरुको समुहले कार्यालयबाट एक थान प्रिन्टर, सिसिटिभि क्यामराको डिभाईस र एक थान म्युजिक सिस्टम समेत चोरी गरेको जनाइएको छ ।कार्यालयमा पैसा नभएका कारण नगद भने चोरी हुन नपाएको कार्यालयका प्रमुख अनिलप्रसाद रौनियारले बताउनुभयो । कार्यालयभित्रका ५ वटा ढोकामा लगाईएको तालासहित कोठामा रहेको १ थान दराज, २ थान सिसिटिभी क्यामरा पनि चोरहरुले फुटाएको प्रमुख रौनियारले जानकारी दिनुभयो । सोमवार बिहान कार्यालय खोल्ने क्रममा कर्मचारीहरु ढोका खुल्लै देखेपछि घटना सार्वजनिक भएको थियो ।पछिल्लो समय वडा नम्बर १८ मा चोरीका घटना बढेका छन् । स्थानीय वित्तीय संस्थाहरुमा नै चोरहरुले निसाना बनाउने गरेको पाइएको छ । गत वर्ष साना किसान सहकारी संस्था लिमिटेड मनहर्वामा पनि यसैगरी चोरी भएको थियो । यस्तै गएको असोज २८ र कार्तिक २१ गते राती स्थानीय मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा दुई पटक चोरीका घटना भएका थिए । चोरहरुको समुहले साना किसान र मौवादेवीबाट करिब १६ लाख रुपैंया चोरी गरेका थिए । ती घटना संलग्नको पहिचान नहुँदै फरवार्ड लघुवित्तमा फेरी चोरी भएको हो ।चोरीका घटनाका कारण मनहर्वा, बडहर्वा आसपासका वित्तीय संस्थामा जोखिम बढेको छ । जीतपुरसिमराको वडा नम्बर १८ को बडहर्वा र उचिडीमा मात्रै एक दर्जन वित्तीय संस्था र तिनका शाखा कार्यालय संचालनमा छन् । चोर समुहले लामो समयदेखि यस क्षेत्रमा मोटरसाईकल, पानी तान्ने मोटर लगायतका सामग्री चोरी गर्दै आए पनि चोर पक्राउ पर्न नसक्नु दुःखको कुरा भएको जीतपुरसिमरा वडा नम्बर १८ उचिडीका स्थानीय पदमप्रसाद न्यौपाने (घण्टी बाजे) ले बताउनुभएको छ ।

Leave a Reply