बसन्त लामा
सिंगौल,निजगढ ३ स्थित टाँसिधार्गेलीङ बौद्ध गुम्बामा लाग्ने रात्री मेलाको तयारीलाई तीव्रता दिइएको छ । मेला तयारीको ७५ प्रतिशत कार्य सम्पन्न भएको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।गुम्बा मेलाको आउदो मंसिर ७ गते बेलुका निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा सागीतिक कार्यक्रमको लागि कलाकारको समेत बन्दोबस्त भैइसकेको मेला व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) ले जानकारी दिनुभएको छ ।साँतितिक कार्यक्रममा तिर्सना गुरुङ्गसहित आधा दर्जनभन्दा बढी राष्ट्रिय स्तरका कलाकार र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने अध्यक्ष जिम्बाले बताउनुभयो ।मेलामा ड्राइगन रेल, रोटेपिङ सहित अन्य मनोरंजन र खेल सामग्रीको लागि धमाधम स्टल बुकिङ्ग भइरहेको मेला समितिका सचिव युवराज वल तामाङले बताउनुभएको छ ।समितिले स्थानीय र अन्यत्रबाट आएका व्यवसायीहरुको लागि मंगलवार बिहानबाट पसल तथा होटलको लागि स्टल बुकिङ्गको समय दिएको छ । ५ दिनसम्म लाग्ने गुम्बा मेलामा शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न सुरक्षा निकायलाई आधिकारिकरुपमा पत्रचार समेत गरिइसकेको समितिका अध्यक्ष जिम्बाले जानकारी दिनुभयो ।तामाङ्ग समुदायका श्रद्धालुहरुले मृतक आफन्तहरुको संझनामा बत्ति बाल्ने र सोही अवसरमा गुम्बा परिसरमा रात्री मेला लगाउने चलन रहेको छ । हरेक वर्ष कार्तिक पुर्णिमा र चैत्र पुर्णिमाको दिन तामाङ्ग समुदायले मृतआत्माको चिरशान्तिको कामना गर्दै गुम्बामा बत्ति बाल्ने गर्दैआएका छन ।
















