निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ स्थित बकैया खोलाबाट अबैध रुपमा संकलन गरेर नदी किनारामा थुपारिएको ढुंगा जफत हुने भएको छ ।जिल्ला समन्वय समिति बाराको गत मंसिर १३ गतेको बैठकले अवैध रुपमा भण्डारण गरिएको ढुंगा, बोल्डर जस्ता नदीजन्य पदार्थको परिमाण यकिन गरी नियमानुसार ठेक्का लगाउन निजगढ नगरपालिकालाई पत्राचार गरेपछि ढुङ्गा जफत हुने भएको हो ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ को बुदा नम्बर७ मा उत्खनन वा संकलनको परिमाण नियन्त्रणको दफा नम्बर (५) मा गाउँपालिका वा नगरपालिकाले ठेक्का अन्र्तगत आर्थिक वर्षको अन्त्यमा नदी किनारा तथा वन क्षेत्रमा भण्डारण गरी राखिएको नदीजन्य पदार्थ जफत गरी लिलाम बिक्री गर्ने व्यवस्था गरेको छ ।
गत मंसिर ७ गते शुक्रवार जिल्ला समन्वय समिति बारा प्रमुख नरेन्द्रकुुमार साह, बाराका प्रमुुख जिल्ला अधिकारी वसन्त अधिकारी, डिभिजनल वन अधिकृत राजिवकुमार झा, जिल्ला प्रहरी कार्यालय बारा प्रमुख महेन्द्र खड्का, सशस्त्र प्रहरी बल, बारा प्रमुख सन्तोषबहादुुर सिंह, जिल्ला समन्वय अधिकारी आमेद चौधरी, लगायतको सरोकारवाला निकायको टोलीले अवैध रुपमा थुपारिएको स्थानको र निजगढमा संचालनमा रहेका क्रसर उद्योगको अनुुगमन, निरिक्षण समेत गरेपछि जिल्ला अनुुगमन तथा समन्वय समितिको बैठकले नियमानुसार अवैध ढुंगा जफत गर्ने निर्णय गरेको हो ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ढुंगा जफत गर्ने बारेमा कानुनअनुसार निर्णय गरिने बताउनुभयो । उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर यस सम्बन्धि कारबाही अघि बढाइने जनाउनुभयो ।स्थानीय ट्याक्टर व्यवसायीहरुले बकैया खोलाबाट अबैध रुपमा संकलन गरेको सो ढुंगाको मूल्य २ करोड ५० लाख बराबरको रहेको बताइएको छ ।यसैबीच निजगढ नगरपालिका वडा नम्बर ४ को बकैया खोला किनारामा थुपारिएको अवैध ढुंगा जफत गर्न समन्वय समितिले निर्णय गरेपछि ढुंगाको कारोबारमा संलग्न स्थानीयले पत्रकार जितलाल श्रेष्ठको घर घेराउ गरेका छन । अबैध ढुंगाको बारेमा समाचार लेखेपछि रुष्ट बनेका निजगढ ४ का केही स्थानीयले सोमवार बिहान पत्रकार श्रेष्ठको घर घेराउ गरेका हुन । ‘जरुरी काम छ, भेट्नुप¥यो भन्दै घर बाहिर आएर फोनमा बोलाए, श्रेष्ठले भन्नुभयो, उनीको नियतमाथि शंका लागेपछि भेटिन ।’ उहाँका अनुसार घटनाबारे जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय निजगढबाट पुगेको प्रहरी टोलीले सो समूहलाई फर्काएको थियो ।

















