कलैया,नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बाराको सहजनाथ साझेदारी वन समितिमा भागबण्डा गरेर पदाधिकारीहरुको चयन गरेपछि उपभोक्ताहरुले विरोध जनाएका छन ।अवैध चोरी, तस्करी गरी काठ चिरान गर्ने स मिलका सञ्चालक भुवनेश्वर धामीलाई वन व्यवस्थापन समितिको अध्यक्ष बनाएपछि विवाद बढेको हो । धामी नेपाली कांग्रेस पार्टीको भागबाट अध्यक्ष बनेका हुन । उपाध्यक्ष र सदस्यहरूमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच पदको बाँडफाँट गरिएको छ । बाराको करैयामाई गाउँपालिका– ७पिपरामा धामीले संचालन गरेको ‘अम्बे स मिल तथा फर्निचर उद्योग’ बाट केही दिनअघि डिभिजन वन कार्यालयले ११० क्युफिट चोरी÷तस्करीको गोलाई र चिरान काठ बरामद गरेको थियो । यसअघि पनि वन कार्यालयले पटकपटक अध्यक्ष धामीको स मिलबाट तस्करीको काठ नियन्त्रणमा लिइसकेको छ ।

धामी २०७४ मा बाराको करैयामाई गाउँपालिकाको अध्यक्ष र २०७४ अघि २ कार्यकाल सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षसमेत भइसकेका छन् । यसअघि सार्वजनिक पदमा रहँदा उनीविरुद्ध बेरुजु र रकम हिनामिनाको उजुरी अख्तियारमा विचाराधीन छ ।धामीका छोरा श्रवण पनि काठ चोरी तस्करीको पटके फरार सूचीमा छन् । गत वर्ष उनको ‘अम्बे स मिल तथा फर्निचर उद्योग’ बाट अवैध काठ नियन्त्रणमा लिने क्रममा वन सुरक्षाकर्मीमाथि निर्घात कुटफिट गरेर हतियारसमेत खोसिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

मधुवन सवडिभिजन वन कार्यालयका प्रमुख संजयकुमार चौधरीले काठ चोरी तस्करी गर्ने, फरार सूचीमा रहेका व्यक्ति र स मिलका सञ्चालकलाई वन समितिको अध्यक्ष बनाएर वन जङ्गलको संरक्षण हुन नसक्ने उहाँले बताउनुभयो । असार तेस्रो साता चयन भएको साझेदारी वनको नयाँ व्यवस्थापन समितिका पदाधिकारीहरुले पदभारसमेत ग्रहण गरिसकेको छन ।
डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले साझेदारी वनलाई राजनीतिक दलहरूले भागबण्डाको अखडा बनाउन नहुने बताउनुभयो । सहजनाथ साझेदारी वनले जिल्लाको ७ वटा पालिकाका ३८ वटा वडा समेटेको छ ।

Leave a Reply