कलैया,बाराको पचरौता नगरपालिकामा झन्डा मेला लगाउने विषयमा सोमवार राति भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ ।पचरौता नगरपालिका वडा नम्बर ७ स्थित बेनौलीमा आयोजना हुन् लागेको झन्डा मेलाका क्रममा झडप भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
डिएसपी न्यौपानेका अनुसार सोमवार राती करिब १० बजे ७ बेनौलीमा झन्डा मेला लगाउने विषयमा गाउँकै दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा ढुङ्गामुढा हानाहान हुँदा केही व्यक्ति घाइतेसमेत भएको डिएसपी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार झडप नियन्त्रण गरेर स्थित सामान्य बनाउन राति करिब ११ बजे प्रहरीले शुरुमा दुई राउन्ड हवाई फायर गरी भीडलाई तितरबितर बनाएको थियो । तर केही समयपछि पुनः झडप परेपछि प्रहरीले थप ६ राउन्ड हवाई फायर गरेको न्यौपानेको भनाई छ । त्यसपछि भने स्थिति सामान्य बनेको उहाँले जानकारी दिनुभयो ।
झडपमा ढुङ्गा हानाहान हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा पचरौता नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र सोही स्थानका ४२ वर्षीय चण्डिका पटेल रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

















