सिम्रौनगढ,उपप्रमुख नजमु शेहरले कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै बाराको सिम्रौनगढ नगरपालिकाका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले अनिश्चितकालको लागि कार्यालयको सेवा स्थगन गरेका छन ।सिम्रौनगढ नगरपालिकाकी नगर उपप्रमुख शेहरले सोमबार कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृत वीरवहादुर साह लहेरालाई दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरुले आज विज्ञप्ति निकालेर सेवा स्थगन गर्नुपरेको जनाएका छन । प्रेस विज्ञप्तिमा कर्मचारीहरुलाई गालीगलौज तथा दुव्र्यवहार गरी अभद्र व्यवहार गरिएको घटनाप्रति नगरपालिकाका कर्मचारी परिवारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘उक्त घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको गरिमा, मर्यादा तथा सुरक्षा माथि प्रत्यक्ष आघात पु¥याएको हुँदा यस प्रकारका अमर्यादित, गैरकानुनी र निन्दनीय कार्यको घोर भत्र्सना गर्दै कार्यालय प्रमुख तथा एक कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति गहिरो दुःख र आपत्ति प्रकट गरिन्छ ।’यस परिस्थितिमा कर्मचारीहरूको सुरक्षा, सम्मान तथा कार्य वातावरण सुनिश्चित नहुन्जेलसम्म सिम्रौनगढ नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू (शिक्षण संस्थाहरू बाहेक) मा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू अर्को निर्णय नहुन्जेलसम्म अनिश्चितकालका लागि स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ ।

कर्मचारीहरुले सम्बन्धित निकायहरूवाट शीघ्र निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा सुरक्षित काम गर्ने वातावरणको सुनिश्चितता हुने विश्वास विज्ञप्तिमार्फत लिएका छन । सेवा स्थगनको निर्णयले नगरवासी तथा सर्वसाधारणमा पर्नसक्ने असुविधाप्रति कर्मचारी परिवारले विज्ञप्तिमार्फत क्षमायाचना समेत गरेको छ ।
करैयामाईको गाउँसभा सम्पन्न
दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिकाको करैया गाउँसभाको १८औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन अध्यक्ष यादवले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादव, वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष प्रशुरामप्रसाद यादव, वडा नम्बर ४ का वडा अध्यक्ष एकलाख बाबु अंसारी, वडा नम्बर ५ का वडा अध्यक्ष उमेशप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष बृज चौधरी तथा वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश चौधरीको उपस्थिति रहेको थियो ।

त्यसैगरी गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू, गाउँ कार्यपालिका सदस्यहरू, गाउँसभाका सम्पूर्ण सदस्यहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विरेन्द्र महतोले गर्नुभएको थियो ।

Leave a Reply