नरेश गुप्ता

बरियारपुर,कलैया उपमहानगरपालिकाको जिन्सी शाखाबाट भएको अनियमितता बाहिर आउने देखिएपछि कार्यालयको जिन्सी शाखा प्रमुख राजेश ठाकुरले संचारकर्मी र सर्वसाधारणलाई सूचना दिन आनाकानी गर्नुभएको छ ।

कलैया उपमहानगरपालिका कार्यलयले आर्थिक वर्ष ०७७÷०७८ मा विभिन्न वडाको लागि खरिद गरेको स्टेशनरी सामग्री, हार्डवेयर, छपाइ, सडकबत्ति लगायतको शीर्षकमा कतिको बजेट खर्च भएको सम्बन्धमा कृपा दैनिकका बारा प्रतिनिधिले जानकारी माग्दा जिन्सी शाखा प्रमुख ठाकुरले आफु बाहिर रहेको र कहिलेकाहि मात्रै जिन्सी शाखा हेर्ने गरेको प्रतिक्रिया दिनुभयोे ।

बिगत चार वर्षदेखि जिन्सी शाखा हेर्दै आउनुभएका करार सेवाका अर्का कर्मचारी दिपेन्द्र यादवले नै शाखाको सबै कामकाज गर्ने गरेको भएपनि जिन्सी शाखाको अनियमितता बाहिर आउने भएपछि सूचना दिन नमानेको र विभिन्न बहाना बनाउदै जिन्सी शाखा प्रमुखबाट जानकारी लिन भन्नुभएको छ । कलैया उपमहानगरपालिकाको जिन्सी शाखाले विभिन्न शीर्षकमा टेन्डर प्रक्रियाबाट समान खरिद गरेको दाबी गरेको भएपनि चापाकल, सडक बत्ति र हार्डवेयर जस्ता सामन खरिद प्रक्रियामा अनियमितता भएको कलैया उपमहानगरपालिका वडा नम्बर १८ रामपुरका स्थानीयहरुले गुनासो गरेका छन ।

कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवको कोटाबाट कलैया उपमहानगरपालिकाको विभिन्न वडामा गरिब, असहाय समुदायको लागि चापाकल खरिद तथा गाडने कार्यक्रममा जिन्सी शाखाका यादवले स्थानीयसंग नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी लिएर पनि धेरैलाई चापाकल नदिएको स्थानीयले बताएका छन ।

कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा विभिन्न वडाको लागि जिन्सी शाखाले खरिद गरिएको सामग्रीमा व्यापक अनियमितता भएकोले शाखाले संचारकर्मीलाई सूचना उपलब्ध गराउन आनाकानी गरेको आशंका छ ।

Leave a Reply