आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकामा ४ दिनदेखि बन्द रहेका वडा कार्यालयको सेवा बिहीवारबाट सुचारु भएको छ । तर बन्द रहेको नगर अस्पतालको सेवा भने अझै पनि अवरुद्ध रहेको छ ।नगरपालिका कार्यालयमा बुधवार राति अबेर सम्पन्न बैठकले कर्मचारीको तलब भत्ता र दरबन्दी थप गर्ने बारेमा सहमति भएपछि नगरपालिकाका सबै ११ वटै वडा कार्यालय संचालनमा आएका हुन । अस्पताल संचालन गर्ने बारेमा भने आगामी श्रावण १० गते हुने भनिएको बैठकबाट निर्णय गरिने जनाइएको छ ।वडा कार्यालय संचालन गर्ने क्रममा भएको सहमतिअनुसार वडा कार्यालयहरुमा वडा अध्यक्षको सिफारिसमा तीन जनाको दरले कर्मचारी व्यवस्थापन गर्ने र वडा नम्बर ८ मा थप एकजना कर्मचारी र वडा सचिवको व्यवस्था नगरपालिकाले गर्ने जनाइएको छ ।त्यस्तै कर्मचारीको बाँकी तलब भत्ताको बारेमा नगरपालिका अन्तर्गतको करार कर्मचारीहरुले पाउने तलब भत्ता यकिन गरी नगरसभाबाट पारित गर्ने जनाइएको छ ।नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा बसेको बैठकमा सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहर, निमित्त प्रमुख प्रसाशकीय अधिकृत भोजेन्द्रकुमार चौधरी, वडा अध्यक्ष दिनदयाल, अरबिन्द कुमार, अवधेश सहनी, शिवमङल प्रसाद, नन्दकिशोर प्रसाद जयसवाल, विवेक मेहता, सुरेन्द्रप्रसाद जयसवाल लगायतको उपस्थिति रहेको थियो ।त्यसैगरी स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण बन्द रहेको नगर अस्पतालको सेवा सुचारु गर्ने बारेमा अस्पताल संचालक तथा व्यवस्थापन समितिमार्फत अस्पताल स्थापनाको समयदेखिको आय व्यय सहितको प्रतिवेदन आगामी श्रावण १० गतेको बैठकमा प्रस्तुत गरिएपछि निर्णय हुने जनाइएको छ ।करार र ज्यालादारीमा भर्ना गरिएका वडा कार्यालयका कर्मचारी र नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले लामो समयदेखि बाँकी तलब भत्ता पाउनुपर्ने लगायतका माग राखेर वडा कार्यालय र अस्पतालको मुख्य गेटमा तालाबन्दी गरी धर्नामा दिएपछि सेवा अवरुद्ध हुदै आएको थियो ।

















