वीरगञ्ज,वीरगञ्जको सिर्सिया नदी प्रदूषण नियन्त्रणको अभियानमा बाधा पु¥याउने सिद्धि टेक्सटाइललाई दण्डित गरिएको छ ।वीरगञ्ज महानगरपालिकाद्वारा सिर्सिया नदीलाई प्रदूषित गर्ने उद्योगको अनुगमनका क्रममा उद्योगबाट निस्किने रसायन र लेदोसहितको फोहोर पानी सोझै सिर्सिया नदीमा मिसाएर प्रदूषित गर्ने वीरगञ्ज– २१ स्थित सिद्धि टेक्सटाइललाई दण्डित गरिएको हो ।अनुगमनका क्रममा सिद्धि टेक्सटाइलले उद्योगबाट निस्केको रसायन र लेदोसहितको फोहोर पानी प्रशोधन नै नगरी सोझै सिर्सिया नदिमा मिसाउने गरेको भेटिएपछि ३० हजार रुपैयाँ जरिवाना गरिएको वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँले जानकारी दिनुभयो ।वीरगञ्जका उद्योगी अशोक मित्तल सञ्चालक रहेको सिद्धि टेक्सटाइललाई यसअघि पनि महानगरपालिकाले तिन लाख रुपैयाँ जरिवाना गरेको थियो । महानगरले २०७९ चैत १४ गते उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाएको पाइएपछि उद्योगलाई जरिवाना गरेको सरसफाइ शाखाका प्रमुख मियाँले बताउनुभयो ।पटक–पटक जरिवाना गर्दा समेत सिद्धि टेक्सटाइलले सिर्सियामा प्रदूषित गर्ने कामलाई जारी राखेको बताइएको छ ।यसअघि तिहार तथा छठ पर्व अगाडि नै सिर्सिया नदीको प्रदूषण रोक्न सिद्धि टेक्सटाइलसहित पाँच उद्योगले सहमति जनाएका थिए । गत असोज २९ गतेका दिन महानगरका मेयर राजेशमान सिंह आफैले गरेको अनुगमन पश्चात् उद्योगका सञ्चालकहरूले रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउने र त्यसो नगरे उद्योग सिल गरी नियम बमोजिम जरिपाना तिर्ने सहमति जनाएका थिए । सहमति अनुसार मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक पानी प्रशोधन गर्ने प्लान्ट बनाउने कामअघि बढाए पनि सिद्धि टेक्सटाइलका सञ्चालकले सहमतिलाई विपरित सिर्सिया नदी प्रदूषित पार्ने कार्य जारी राखेका छन् ।त्यस्तै ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर र दुर्गा पल्स एन्ड पेपरले पनि पानी प्रशोधन गर्ने यन्त्र जडान गर्न अटेर गरिरहेको बताइएको छ । यद्यपि ग्लोबल, मारुती र दुर्गा पल्सले छठसम्मका लागि उद्योग बन्द गरे पनि सिद्धिले त्यस्तो नगरेको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँले बताउनुभयो ।

Leave a Reply