वीरगञ्ज,पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू विषयगत शिक्षकको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।विद्यालयमा माध्यमिक तह कक्षाका विद्यार्थीहरु विज्ञान, अंग्रेजी, सामाजिक, अर्थशास्त्र जस्ता विषय शिक्षकको माग गर्दै बिहीवारबाटआन्दोलनमा उत्रिएका हुन । आन्दोलनरत विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरी नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
कक्षा ९, १०, ११, र १२ मा अध्ययनरत विद्यार्थीहरूले विषय शिक्षकको अभावमा विद्यालयको पठनपाठन प्रभावित भएको गुनासो गरेका छन् । विद्यार्थीहरूका अनुसार शैक्षिक सत्र सुरु भएको सात महिना बितिसक्दा पनि मुख्य विषयका शिक्षकको व्यवस्था नभएको र पठनपाठन ठप्प भएको छ ।कक्षा १०का छात्र अमित गुप्ताले विद्यालय प्रशासनलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नलिएको गुनासो गर्नुभयो । “हामीले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई धेरै पटक भेटेर शिक्षकको माग ग¥यौँ, गुप्ताले भन्नुभयो, तर कुनै व्यवस्था नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’ उहाँले शिक्षक अभावमा आफूहरुको पढाइ बरबाद भइरहेको पनि बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम वडा अध्यक्ष लालबाबु चौरसियाले विषयगत शिक्षकको अभाव रहेको स्वीकार गर्दै आन्दोलनरत विद्यार्थीहरूसँग वार्ता गरेर समस्या समाधान गरिने बताउनुभएको छ । उहाँले शिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै दशैँ बिदामा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हिमांशु भट्ट कार्यालयमा अनुपस्थित भएका कारण शिक्षक नियुक्तिमा ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार विद्यालय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी पालिकामा विज्ञापन स्वीकृतिका लागि पठाइसकेको छ ।अभिभावकहरुका अनुसार चार महिनाअघि विद्यालयले तीन जना विषयगत शिक्षक नियुक्त गर्न सूचना जारी गरेको थियो । तर प्रधानाध्यापक राजेश तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष लालबाबु चौरसिया र सहायक प्रधानाध्यापक जयप्रकाश चौरसियाबीच भागबन्डा नमिल्दा प्रक्रिया रोकिएको हो ।
















