मनोज शाह
जीतपुर,बाराको पथलैयामा पराल, भुसलगायत कृषिजन्य कच्चा पदार्थ बोकेका ट्रक र ट्याक्टरलाई ट्राफिक प्रहरीले रोक लगाएपछि किसान, व्यवसायी र चालक प्रहरी कारबाहीको विरोधमा उत्रिएका छन ।प्रहरीले राजमार्गमै सयौं सवारी साधन रोकेपछि उनीहरूले बुधवार पथलैयास्थित ट्राफिक प्रहरीको प्रदेश स्तरीय कार्यालयअगाडि धर्ना दिएका थिए ।
‘भभरलोड’ (ढालाभन्दामाथि बोकेको) को कारण देखाउँदै ट्राफिक प्रहरीले पराल र भुसलगायतका कृषिजन्य प्रयोजनको सामग्री ढुवानीमा अनावश्यक रुपमा अवरोध गरेको किसान तथा व्यवसायीहरूको आरोप छ ।
च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले पराल, भुसजस्ता कच्चा पदार्थ कृषि उत्पादनका लागि आवश्यक हुने भए पनि ट्राफिकले अनावश्यक दुःख दिएपछि आन्दोलन गर्नुपरेको बताउनुभयो ।धर्नामा सहभागी चालक र किसानका अनुसार पछिल्ला केही दिनयता पथलैयामा एक सयभन्दा बढी ट्रक तथा ट्याक्टर राजमार्गमै अलपत्र परेका छन् । चालक सूर्य श्रेष्ठले ट्राफिक प्रहरीलाई पैसा नबुझाई सवारी चलाउन नपाइने अवस्था रहेको आरोप लगाउनुभयो । उहाँले कृषिजन्य उत्पादनका कच्चा पदार्थहरु निर्वाध रुपमा ढुवानी गर्न पाइनुपर्ने माग पनि गर्नुभयो ।
ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालले भने आफूहरूले कानुनअनुसार मात्र कारबाही गरिरहेको दाबी गर्नुभएको छ । ‘तोकिएको मापदण्डभन्दा बढी लोड बोकेका सवारी साधनलाई रोकेका हौं’ उहाँले भन्नुभयो, ‘अलग मापदण्ड भएको प्रमाणसहित ल्याए छाडिन्छ ।’ उहाँका अनुसार ढुवानीका साधनले नियम विपरीत क्षमताभन्दा अधिक अग्लो बनाएर भार बोकिएको र दुर्घटना जोखिम बढेको गुनासो आएपछि कडाइ गरिएको हो । यसरी ढुवानी गर्ने साधनबाट सडक दुर्घटनाको जोखिम पनि उच्च हुने उहाँको भनाई छ ।‘अहिले रोकिएका ट्याक्टर र ट्रकले गरेको ढुवानी नियमसम्मत छैन उहाँले भन्नुभयो, नियमभित्र आएपछि सबै गाडी छोडिन्छ ।’सिलवालले ट्राफिक प्रहरीले चालकसँग अवैध रुपमा पैसा लिने गरेको भन्ने आरोपलाई पुष्टि गर्न चुनौती पनि दिनुभयो । ‘यदि लेनदेन भएको प्रमाण फेला परे जो कोही भएपनि कानुन अनुसार कारबाही हुन्छ ।’ उहाँले भन्नुभयो ।



















