जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी हजारौं व्यक्तिहरु विस्थापित हुन पुगेका छन् ।
१ सय ५७ जनाको मृत्यु भएको छ भने केही घाइतेहरु गम्भीर अवस्थामा छन् । हेर्दाहेर्दै आफ्नै घर खण्डहरमा परिणत भएको र कैयौँ आफन्त र छरछिमेकका सदस्यहरु घरमा पुरिएर मृत्युवरण गर्न बाध्य भएको दृश्य पीडितहरुले देख्नुप¥यो । त्यस्तो दृश्य उनीहरुको लागि पक्कै पनि कहालीलाग्दो थियो ।भागेर बाँचेकाहरुले घरबास सबै गुमाएका छन् र अहिले हजारौँ स्थानीयहरु खुला आकाशमुनि रात बिताउन विवश भइरहेका छन् । विस्थापितलाई राहत र पुनस्र्थापना अहिलेको अहम् आवश्यकता हो । मृत्यु भएकाहरुको परिवार शोकमा छन् भने घर भत्किएर विस्थापित भएकाहरु पनि कहाँ बस्ने, के खाने र के लगाउने भन्ने समस्याले आक्रान्त छन् ।त्यसैले यतिखेर त्यहाँका बासिन्दाका लागि सहानुभूति होइन, तत्काल राहत र पुर्नस्थापनाको खाँचो छ । प्रकृतिबाट वज्रपात भोगेका पीडितहरुलाई सरकारले नै छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्छ । पीडितहरुलाई झन् पीडित हुने अवस्था कुनै हालतमा पनि आउन दिनुहुँदैन ।अहिले भूकम्प पीडितलाई ठूलो सहारा र आधारको खाँचो छ । त्यो आधार र सहारा भनेकै सरकारी स्तरबाट दिनुपर्ने उचित राहत र गर्नुपर्ने पुनस्र्थापनाको विषय हो । सरकारी स्तरबाट खोज र उद्धारमा प्रभावकारी भूमिका निर्वाह भएको भए पनि राहत र पुनस्र्थापनामा जुन तदारुकता देखाउनुपथ्र्यो त्यो देखिन सकेको छैन ।















