रौतहट,रौतहटको गरुडामा वर्षौदेखि बन्द रहेको श्रीराम सुगर मिल्स लिमिटेड संचालनको लागि आयोजना गरिएको वृहत् किसान आम सभा कार्यक्रम शनिवार मिल्सको मैदानमा सम्पन्न भएको छ ।उखु उत्पादक संघ रौतहटले आयोजना गरेको वृहत् आम सभामा सहभागी भएका सत्तारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चीनी उद्योग संचालनका लागि एकताबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।कार्यक्रममा नेपाली कांग्रेसका नेता एवंम रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले उद्योग संचालन गराउनको लागि ३० करोड रकम संघीय सरकारबाट व्यवस्थापन गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले २०५१ सालमा स्थापना भएको श्रीराम सुगर मिल्सको लागि नेपाली कांग्रेसका पूर्व मन्त्री शेख इद्रिसको अहम योगदान भएको चर्चा गर्दै रौतहट, बारा र सर्लाहीको किसानको मेरुदण्डको रुपमा रहेका उद्योग संचालन गराएर छाड्ने उद्घोषसमेत गर्नुभएको थियो ।रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य किरण साहले बन्द रहेको चीनी उद्योगको लिलामी प्रक्रियाबाट जोगाउन कानुनी प्रक्रिया अपनाउनुपर्ने बताउनुभयो । उहाँले सञ्चालनको लागि सडकदेखि सदनसम्म आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । मधेस प्रदेशमा बन्द भएको उद्योग कल कारखाना संचालन गराउन सदनमा आवाज उठाएको बताउँदै रौतहटको धरोहरको रुपमा रहेको चीनी मिलको जग्गा कसैले बिक्री गर्न खोजे रौतहटका जनताले त्यसको प्रतिकार्य गर्ने पनि बताउनुभयो ।सभामा मधेस प्रदेश सरकारका उर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्री अब्बुल कलाम अजाद (फुलबाबु)ले मिल संचालनको लागि प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारको सहयोग गर्नुपर्ने बताउनुभयो । चिनी मिल संचालनको लागि पटक पटक आवाज उठाउदै र संघर्ष गर्दै आउनुभएका संघका अध्यक्ष अशोक यादवको सभापतित्वमा सम्पन्न भएको सभामा संविधानका पूर्वसभा सदस्य रामकुमार भट्टराई, पूर्वराजदूत डाक्टर बंशीधर मिश्र, मधेस प्र्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र यादव, प्रदेश सांसद कनिष्ट पटेल, सुनिल यादव, गरुडा नगर पालिकाका मेयर कन्थमणी जयसवाल, बौद्धिमाई नगरपालिकाका मेयर प्रदीप यादव, वृन्दावन नगर पालिकाका नगर प्रमुख विनोद पटेल, पूर्वमेयर राम स्नेही यादवलगायतका वक्ताहरुले मिल संचालनको आवश्यकता बारेमा बोल्नुभएको थियो ।