पर्सा — सात वर्षदेखि भारतमा आश्रित दार्चुला मल्लिकार्जुन गाउँपालिकाकी एक महिला शुक्रबार स्वदेश फर्किएकी छिन् । ३५ वर्षिया दुर्गा देवी ९नाम परिवर्तन० को स्वदेश फिर्तीसँगै पारिवारिक पुनर्मिलन पनि भएको छ ।उनी ७ वर्षदेखि भारत बिहारको राजधानी पटनास्थित ‘आसरा गृह’ नामक एक महिला आश्रय गृहमा आश्रित थिइन् । वीरगन्जस्थित माइती नेपाल आवधिक गृहको पहलमा दुर्गाको स्वदेश फिर्ती तथा पारिवारिक पुर्नमिलन भएको हो ।मानसिक सन्तुलन गुमाएर २०७३ भदौ १४ गते घरबाट हिडेकी दुर्गालाई भारतको राजधानी दिल्लीमा प्रहरीले बेवारिशे अवस्थामा फेला पारेर त्यहाँस्थित आश्रयस्थलमा राखेको थियो ।

त्यसको करिब १ महिनापछि भारतीय प्रहरीले उनलाई पटनास्थित आसरा गृहमा संरक्षणका लागि पठाएको थियो । त्यहाँ स्वास्थ्य उपचार समेत सुरु गरिएपछि दुर्गाले आफ्नो नाम र ठेगाना आश्रयस्थलका अधिकारीहरुलाई बताएकी थिइन् ।त्यस आधारमा भारतीय पक्षले माइती नेपाललाई दुर्गाको बारेमा सूचना दिएपछि उनको स्वदेश फिर्तीको पहल सुरु गरिएको थियो । माइती नेपाल वीरगंज आवधिक गृह प्रमुख वीरेन्द्र गौतम सहित दुर्गाका पारिवारिक सदस्यहरु समेतको टोली भारतको पटना पुगेर दुर्गालाई लिएर शुक्रबार बिहान वीरगन्ज आइपुगेको हो ।गौतमले लामो प्रयासपछि यो सफलता मिलेको बताए । ‘दुर्गाको स्वदेश फिर्तीका लागि हामी लामो समयदेखि प्रयासरत थियौं,’ गौतमले भने, ‘कानूनी प्रक्रिया तथा बिभिन्न प्राविधिक जटिलताहरुको कारण दुर्गाको स्वदेश फिर्तीको प्रक्रिया लम्बिरहेको थियो ।’
उनका परिवारका २ सदस्य तथा आफू समेत भई पटना पुगेर अन्ततः स्वदेश फिर्ता ल्याउन सफल भएको गौतमले जानकारी दिए ।दुर्गाले आफन्तजनलाई भेट्दा तथा स्वदेश फर्कन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताइन् । उनले आफू कसरी र कुन हालतमा दिल्ली पुगे भनेर बताउन भने सकेकी छैनन् । अहिले पनि दुर्गाको मानसिक स्वास्थ्यको उपचार भइरहेको छ ।माइती नेपालका अनुसार उनी अहिले धेरै हदसम्म शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य रहेकी छिन् । तर लामो समय भारत बस्दा उनले आफ्नो मातृभाषा नेपाली बोल्न भने भुलेकी छन् ।कान्तिपुरबाट साभार


















