निजगढ,निजगढ नगरपालिकाको नगर सभाको बाह्रौं अधिवेशनको दोश्रो बैठक आइतवार सम्पन्न भएको छ ।निजगढ नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालय, निजगढको सभा हलमा सम्पन्न बैठकमा निजगढ नगरपालिकाका उपप्रमुख तथा सभाकी उपाध्यक्ष सोममाया थिङले पेश गर्नु भएको निजगढ नगरपालिकाको विनियोजन विधेयक, २०८० तथा आर्थिक वर्ष २०८०-०८१ को ८१ करोड १५ लाख ८६ हजारको बार्षिक बजेट बहुमतबाट पारित गरेको छ ।उपाध्यक्ष थिङ्गले संस्थागत विकास तथा सुशासनतर्फ १४ करोड, वडा विकासको लागि प्रतिवडा ८० लाखको दरले १० करोड ४० लाख, पुरानो भुक्तानी गर्न ६८ लाख, नीति तथा कार्यक्रमको प्राथमिकताको क्षेत्र तर्फ १८ करोड ८३ लाख, शिक्षातर्फ १ करोड १२ लाख, स्वास्थ्यतर्फ १ करोड ८१ लाख, कृषि विकासको लागि ५७ लाख, महिला, बालबालिका र जेष्ठ नागरिक सम्बन्धि २७ लाख, पशु प्रवद्र्धनमा ५२ लाख र आर्थिक विकासको लागि १० लाख रकम विनियोजन गर्नुभएको छ ।उपप्रमुख थिङ्गले प्रस्ताव गरेको बजेटमा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा र वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले समर्थन गर्नुभएको थियो ।वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले र १३ का वडा अध्यक्ष सूर्य घलानले कार्यपालिका बैठकमा भएको सहमति विपरीत बजेट प्रस्तुत भएको भन्दै आपत्ति जनाउनुभएको थियो । सोही विवादमा वडा नम्बर १३ का अध्यक्ष घलानले सभा बहिष्कार गरेको घोषणा गरेर सभा हलबाट बाहिरिनुभएको थियो भने वडा अध्यक्ष गोलेले भने विविध बाहेकका अन्य प्रस्तावहरु पास गरिने बताएपछि नगर प्रमुख पुरीले उक्त प्रस्ताव स्थगन गरिएको जानकारी सभामा गराउनुभएको थियो ।सभामा नगर सभा सदस्य सागर गौतम, मिना सुनार, कुमार मोक्तान, शम्भु न्यौपाने लगायतले विभिन्न सुझावहरु दिनुभएको थियो ।नगर प्रमुख तथा नगर सभाका अध्यक्ष पुरीले नगर सभाको जारी बाह्रौं अधिवेशनको तेश्रो बैठक आगामी भाद्र १० गते आइतवार बिहान बस्ने गरी बैठक समापन गर्नुभएको थियो ।अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव श्री राजमणि निरौला, नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु, वडा सचिवहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।