काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ करोड २६ लाख ६९ हजार लिटरभन्दा बढी जुस निर्यात भएको छ। भन्सार विभागका अनुसार साउनदेखि असोजसम्मको अवधिमा जुस निर्यातबाट २ अर्ब २० करोड ७९ लाख रुपैयाँ आम्दानी भएको छ।
नेपाली जुसको सबैभन्दा ठूलो बजार भारत हो। यसबाहेक केही मात्रामा चीन र जापानमा पनि जुस निर्यात हुने गरेको छ।
विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै मिश्रित फलफूलको जुस (मिक्स जुस) निर्यात भएको छ। समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार लिटर मिक्स जुस निर्यात भएको हो। यसको अधिकांश हिस्सा भारत गएको छ भने केही परिमाण चीन र जापानमा पनि पुगेको छ।
मिक्स जुसपछि सुन्तला र भुइँकटहरको जुस निर्यात धेरै भएको छ। पहिलो तीन महिनामा ३५ करोड ८७ लाख रुपैयाँ बराबरको ३२ लाख ७२ हजार लिटर सुन्तलाको जुस तथा २२ करोड १३ लाख रुपैयाँ बराबरको १८ लाख ४३ हजार लिटर भुइँकटहरको जुस निर्यात भएको छ। यी दुवै जुस भारतमा मात्रै पठाइएको विभागले जनाएको छ।
यसैगरी नेपालबाट स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि भारततर्फ निर्यात भएको छ। तीन महिनामा स्याउको जुस १६ करोड ८५ लाख रुपैयाँ, ग्रेपफ्रुटको जुस १ करोड ५२ लाख रुपैयाँ र गोलभेँडाको जुस १ करोड २५ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांक छ।
















