रौतहट,रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थी अद्र्र्धवार्षिक परीक्षाबाट वञ्चित भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाहेर गरेको भ्रष्टाचार सम्बन्धि मुद्दामा केही समयअघि विशेष अदालतबाट सफाइ पाएर पद बहाली हुनुभएका मेयर अजयप्रकाश जैसवालको लापरबाहीका कारण हजारौँ विद्यार्थी परीक्षाबाट बञ्चित बनेका हुन ।

कटहरिया नगर क्षेत्रभित्र ५ वटा मावि, ५ निमावि र १४ प्रावि गरी कुल २४ सामुदायिक विद्यालयमा कक्षा १ देखी १० सम्म १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको पूर्व नगर शिक्षा संयोजक अनिलकुमार निधिले बताउनुभएको छ ।
चालू आर्थिक वर्षको नयाँ शैक्षिकसत्र गत वैशाखबाट सुरु भएको थियो । शैक्षिकसत्रको हिसाबले गत कार्तिक महीनाको मसान्तभित्र अद्र्धवार्षिक परीक्षा सम्पन्न हुनुपर्ने थियो ।

नगर क्षेत्रअन्तर्गतका सामुदायिक विद्यालयहरूमा त्रैमासिक परीक्षा विद्यालयले आफ्नो स्रोत साधनमा आफै गराउने र अद्र्र्धवार्षिक तथा वार्षिक परीक्षा गराउने नगरपालिकाले व्यवस्था गर्दै आएको मावि भसेढवाका प्रधानाध्यापक राममंगल यादवले बताउनुभयो ।तर पुस महिनाको अन्तिम सातासम्म पनि नगरपालिकाले स्रोत साधन उपलब्ध नगराएपछि कटहरियाका कुनै पनि सामुदायिक विद्यालयमा हालसम्म अर्धवार्षिक परीक्षा हुन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।

यसरी निर्धारित समयभन्दा ३ महिना बढी बित्दा पनि हालसम्म अर्धवार्षिक परीक्षा नहुँदा हजारौँ विद्यार्थीको भविष्य अन्यौलमा परेको र मेयर जैसवालले विद्यार्थीको पठनपाठनमा खेलबाड गरेको अभिभावकहरूले गुनासो गरेका छन् ।
कटहरिया ७ का वडा अध्यक्ष सहिद मियाँ दर्जीले परीक्षा गराउन लाग्ने खर्च विद्यालयहरूलाई समयमा नदिनु मेयर जैसवालको चरम लापरबाही रहेको गुनासो गर्नुभएको छ ।अर्धवार्षिक परीक्षा सञ्चालन गर्न लाग्ने खर्च उपलब्ध गराउन पटक पटक नगर शिक्षा समितिसँगै नगरपालिकालाई आग्रह गर्दा कसैले वास्ता नगरेको शिक्षकहरूको गुनासो छ ।
नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले नगरपालिका र मेयरको बचाउ गर्दै वडा अध्यक्षहरूले वार्षिक र अर्धवार्षिक परीक्षाको लागि रकम न छुट्याएकाले समयमा रकम निकासा हुन नसकेको बताउनुभएको छ ।

ठाकुरले हाल नगरपालिकामा तालाबन्दी भएको कारण कठिनाइ भएपनि अर्धवार्षिक परीक्षाको खर्च जुटाउन आफू प्रयासरत रहेको पनि बताउनुभयो । कटहरियाकी उपमेयर रिता देवी यादवले मेयर जैसवालको बचाउ गर्न शिक्षा संयोजक सुरेन्द्र ठाकुरले झुटो बोलेको बताउनुभएको छ ।आफू निर्वाचित भए देखिनै नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक र वार्षिक परीक्षा गराउन लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले दिँदै आएको र अहिले वडा अध्यक्षहरुलाई दाषि देखाएर उम्कन नमिल्ने बताउनुभएको छ ।नगरपालिकामा जनप्रतिनिधिहरूले यही पुस महीनाको ९ गते तालाबन्दी गरेको भएपनि परीक्षा भने कात्तिक मसान्तमा हुनुपर्ने हो ।इन्धन, डिपिआर, आर्थिक सहयोग, करार कर्मचारीको तलब लगायत शीर्षकमा करोडौँ रुपैयाँ मनपरी गर्ने कटहरियाका मेयर जैसावलले हजारौँ विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषयमा खेलबाड गरिरहेको नगरवासीले आरोप लगाएका छन ।

Leave a Reply