सिम्रौनगढ,बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने उल्लेख छ ।

छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिनुभयो । नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेका छन् । महिलाको स्वाभिमानलाई अगाडि बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी सावित्री शर्माले बताउनुभयो । प्रमुख यादवले पचरौता नगरपालिकामा जनमुखी र र रचनात्मक बजेट ल्याई नागरिकलाई सबल एवं सक्षम बनाउन लागि परेको बताउनुभयो । उहाँले किसानको लागि कृषि सिचाईमा विजुलीको मिटरमा शुल्क फ्रि तथा गरिब, दलित, असहाय, विपन्न वर्गका लागि निःशुल्क रुपमा खाना पकाउने ग्यास सिलिण्डरसहित ग्यास चुलो प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउनका लागि नगरभित्र १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणको तयारी पनि गरेको बताउनुभयो । ज्येष्ठ नागरिकको हकमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराउनका लागि बजेट विनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै नागरिकलाई सहजरुपमा स्वास्थ्यचौकीसम्म पु¥याउनका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ४५ करोड ८४ लाख २७ हजार बजेट ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here