कलैया,बारा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी शुरु गरिएको छ । शिक्षा विकास समन्वय इकाई, बाराले जिल्लालाई आगामी ३ महीनाभित्र पूर्ण साक्षण घोषणा गर्ने तयारी शुरु गरेको हो ।यसैक्रममा आज कार्यालयले जिल्लामा सञ्चालनमा रहेका सामुदायिक सीकाइ केन्द्रका साक्षरता कार्यक्रमका परिचालकहरूसँग छलफल गरेको छ ।
शिक्षा विकास समन्वय इकाई, बाराले पूर्ण साक्षर जिल्ला घोषणा गर्न आवश्यक मापदण्ड, हालसम्मको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्न जिल्लास्तरीय बैठक आयोजना गरेको हो । बैठकमा जिल्लाका विभिन्न पालिकामा कार्यरत सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तथा परिचालक, वैकल्पिक शिक्षा कार्यक्रम र समुदायमा आधारित सिकाइ कार्यक्रमका परिचालकहरूको सहभागिता रहेको इकाई प्रमुख अशोक रौनियारले जानकारी दिनुभयो ।

कार्यक्रममा इकाई प्रमुख रौनियारले जिल्लामा साक्षरताको अवस्थाबारे अद्यावधिक तथ्यांक संकलन, बाँकी रहेका निरक्षर नागरिकलाई साक्षर बनाउने अभियानलाई थप प्रभावकारी बनाउन तथा पूर्ण साक्षर जिल्ला घोषणा प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन परिचालकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामी तीन महीनाभित्र जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको र कार्यक्रमलाई सफल पार्नको लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।

बैठकमा सहभागी परिचालकहरूले फिल्डमा भोग्नुपरेको समस्या, चुनौती, अनुभव तथा सुधारको लागि सुझावहरू दिएका थिए । सहभागीबाट प्राप्त सुझावका आधारमा कार्ययोजना परिमार्जन गरी बारा जिल्लालाई छिट्टै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको शिक्षा विकास समन्वय इकाईले जनाएको छ ।२०७८ जनगणना अनुसार बारामा लगभग ६४.५ प्रतिशत जनसंख्या साक्षर रहेको छ । जसमध्ये करीब ५१.८ प्रतिशत जनसंख्या पढ्न र लेख्न मात्र सक्ने, ३ प्रतिशत मात्र पढ्न सक्ने तर लेख्न नसक्ने र ४५.१ प्रतिशत जनसंख्या निरक्षर छ ।१५–६० वर्ष उमेर समूहमा ९५ प्रतिशतभन्दा बढी जनसंख्या पढ्न र लेख्न सक्ने भएपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिन्छ । यसकोलागि स्थानीय तहका सबै वडाहरुले यो लक्ष्य पुरा गरेको रिपोर्ट गर्नुपर्ने हुन्छ ।

बारामा हाल बारागढी गाउँपालिका, साविक निजगढ गाविस, साविक गढीमाई नगरपालिका साक्षर घोषणा भएका छन । निजगढ निजगढ नगरपालिकामा भने सिंगौल र रतपुरका २ वटा वडालाई साक्षरता घोषणा गर्न बाँकी छ ।मधेस प्रदेशका सबै जिल्लाः सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायत कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा र सुदूरपश्चिमको कञ्चनपुर र डोटी जिल्लाहरु अझै “पूर्ण साक्षर” घोषणा हुन बाँकी रहेका छन ।

Leave a Reply