वीरगन्ज,वीरगन्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ ।बिहीवार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो ।अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।बिहीवार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख राजेशमान सिंहले आफूहरुले निर्वाचनका बेला जनताकाबीच गरिएको प्रतिबद्धता बमोजिम नगरवासीको विद्युत महसुल निशुल्क गर्ने सम्झौता गरेको बताउनुभयो ।महानगरको मेयरमा शपथ लिएसँगै सिंहले पहिलो बैठकबाटै विद्युत महशुल निशुल्क गर्ने निर्णय गर्नुका साथै नगरपरिषद्बाट समेत निर्णय पारित गराउनुभएको थियो ।‘शपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ, केही महिना ढिला हुन पुगेको छ,’ उहाँले भन्नुभयो, ‘लाभग्राही पहिचान र तथ्यांक संकलन गर्न समय लाग्यो, अब ढिलै भएपनि यो महिनादेखि कार्यान्वयनमा ल्याउन सफल भएका छौँ ।’सम्झौता बमोजिम अब मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले भुक्तानी गर्ने उहाँले बताउनुभयो ।८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसिबी प्रयोग गरी अधिकतम् ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महशुल र न्युनतम मासिक महशुल महानगरले बेहोर्ने उल्लेख छ ।यस्तै महानगरभित्र संचालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत महशुल पनि महानगरले नै बेहोर्ने छ ।महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरुप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फस्र्यौट गर्ने छ ।सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागुहुनु पूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनुपर्ने पनि सम्झौतामा उल्लेख छ ।कुनै कारणले सम्झौता बमोजिमको शुल्क भुक्तानी हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले ६ दिनभित्र प्राधिकरणको कार्यालयमा दावी गर्न सकिने पनि उल्लेख छ ।नगरवासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत महसुल र इनर्जी शुल्क निशुल्क गर्ने वीरगन्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ ।सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply