वीरगञ्ज,सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको हृदयघातबाट निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको हृदयघातका कारण शनिवार निधन भएको हो ।बिहान साईकलबाट गढीमाई मन्दिर दर्शन गरेर फर्किनु भएका एसपी थपलियाको दिउँसो १ बजेको समयमा हृदयाघातबाट मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।उहाँका अनुसार साईक्लिङ्ग गरेर आएपछि आराम गर्न बस्नुभएका थपलिया सोही स्थानमा अचेत हुनुभएको थियो । उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा लगिएकोमा अस्पताल पु¥याउनुअघि नै थपलियाको मृत्यु भएको प्रजिअ रेग्मीले बताउनुभयो ।नुवाकोट स्थायी घर भएका थपलियाले सात महिना अघिबाट मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपतिको जिम्मेवारी सम्हाल्नु भएको थियो ।



















