सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ७ लाख ६५ हजार २०१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सोही क्रममा एक युवकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१५ बुधौराका १८ वर्षीय दुर्गेशकुमार यादव रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले बिहीबार जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको सुरक्षा तथा निगरानी अभियानका क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मोटरसाइकल, लत्ताकपडा तथा अन्य सामग्री बरामद गरिएको हो ।
बरामद सामानको कुल मूल्य ७ लाख ६५ हजार २०१ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका युवक र बरामद सामग्रीबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।















