काठमाण्डौ – बाढी पहिरोले सडक तथा पूलको क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको सरकारले जनाएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरेर प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायीरूपमा गाडी चलाउनका लागि साढे २ देखि ३ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको छ । यस्तै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

बाढी पहिरोले ३४ वटा राजमार्गका ८ सय ५ ठाउँमा सडक अवरुद्ध भएकोमा ७ सय ७४ ठाउँको पहिरो हटाएर गाडी चलाउन थालिएको पनि मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको सिन्धुली खण्ड र अरनिको राजमार्गको तातोपानी पुग्ने सडकमा गाडी चल्नेगरी मर्मत गर्नसमेत समस्या भएको मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले ५ वटा मुख्य राजमार्गका ३१ ठाउँमा अझै अवरुद्ध रहेको बताउनुभयो । अरनिको राजमार्गको लार्चा–कोदारी खण्डमा भोटेकोशीले दुई वटा पुल बगाएकोमा लार्चामा ह्युम पाइप राखेर र लिपिङमा बेलिब्रिज राखेर अस्थायीरूपमा सडक बनाउने सरकारको तयारी छ । तर दशैँअघि यी काम हुनेमा सरकार नै अन्योलमा छ ।
बीपी राजमार्गमा भने १२ किलोमिटर सडक पूर्णरूपमा बगेकाले सबै विकल्प अपनाएर सकभर चाँडोभन्दा चाँडो निर्माण थालिने सचिव शर्माले बताउनुभएको छ । तर दशैँअघि बीपी राजमार्ग सञ्चालनको सम्भावना नरहेको सचिव शर्माले बताउनुभयो । मन्त्रालय र सडक विभागको टोली हिजो नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । अब दशैँ अगाडि बीपी राजमार्ग खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । रोशीले सडक बगाएको ठाउँमा पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन ।शुक्रवार र शनिवारसम्म कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक खुलाउने तयारी छ । यस्तै काठमाण्डौबाट नौबिसे हुँदै हेटौँडा र थानकोट–चित्लाङ हुँदै साना गाडीलाई हेटौँडासम्म जाने छोटो बाटो मर्मत गरेर चाँडै सञ्चालन गर्ने कोशिश भइरहेको सचिव शर्माले बताउनुभयो ।अहिले काठमाण्डौ–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here