रौतहट,बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौरबाट पक्राउ गर्न आदेश लिएको हो । अदालतको आदेशपछि पनि नगर प्रमुख कुर्मी भने पक्राउ परेका छैनन् । उनले दैनिक नगरपालिकाको कामकाज गरिरहेका छन् । पक्राउ पुर्जी जारी भएपछि पनि गत असार १० गते सुरक्षाकर्मीको उपस्थितिमा नगरसभा सम्पन्न भएको थियो ।

वृन्दावन नगरपालिका– १ स्थित राहुल माछापन्छी तथा कृषि फर्मको गोठ, घर र बाछो घाइते हुने गरी २०८१ जेठ २७ गते साँझ आगो लगाएर आपरधिक कार्य गरेको भन्दै वृन्दावन– ४ का वडाअध्यक्ष श्यामराय यादवका छोरा मुरलीधरराय यादवले नगरप्रमुख कुर्मीलगायत १४ जनाविरुद्ध जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिनुभएको थियो । बागमति नदीमा नदीजन्य पदार्थ उत्खननको विवादपछि आगलागीको घटना घटाइएको बताइएको छ ।
प्रहरीले उक्त जाहेरी दर्ता गरी अदालतबाट असार २ गते पक्राउ पुर्जीको आदेश लिएको हो । इलाका प्रहरी गरुडाका डिएसपी रामेश्वर त्वातीले आगजीनको घटनामा नगरप्रमुख कुर्मीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बताउनुभएको छ ।

















