निजगढ,

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले धर्मले समाजमा शान्ति र सद्भाव फैलाउन महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।निजगढ नगरपालिका वडा नं.६ सडकटोल प्रणामी नगरस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शनिवारबाट सुरु भएको श्रीकृष्ण प्राकट्य महोत्सवको उद्धाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद मैनालीले सो कुरा बताउनुभएको हो ।‘समाजमा बढदै गएको दुराचार र विकृति अन्त्य गर्न धर्म नै सबैभन्दा प्रभावकारी माध्यम सावित भएको छ, मैनालीले भन्नुभयो, धर्मलाई सम्झेर काम गर्ने हो भने सभ्य र उन्नत समाज निर्माण गर्न सहज हुने छ ।’ धर्मले देखाएको बाटोमा अग्रसर हुन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल र श्री कृष्ण प्रणामी मन्दिर सडकटोलको आयोजनामा सुरु भएको महोत्सव आगामी भाद्र महिनाको २० गतेसम्म चल्ने छ । महोत्सवमा धर्मप्रचारक पुरुषोत्तम खतिवडा शास्त्रीले हरेक दिन दिउसो १२ बजेदेखि ३ बजेसम्म वितक चर्चा अर्थात श्री कृष्ण कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनालगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र सयौं श्रद्धालुहरुको पनि उपस्थिति रहेको थियो ।मन्दिर संचालक समितिका यादवकुमार तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन मन्दिर संचालक समितिका सचिव भिमसेन सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply