निजगढ,पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पूर्वको धन्सार पुल नजिकबाट बेवारिसे अवस्थामा फेला परेकी भारतीय महिला छोटिकुमारी र शिुशुलाई प्रहरीले शुक्रवार आफन्तको जिम्मा लगाएको छ ।जिल्ला प्रहरी कार्यालय कलैयाले भारतीय महिला छोटीकुमारी र उनको सवा २ महिनाको छोरालाई माइतितर्फकी दिदी रितु देवीसहित आफन्तको जिम्मा लगाएर पठाएको हो ।महिला र शिशुलाई भारतको मोतिहारी पिपरागाउँस्थित माइतिघरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका बालबालिका तथा महिला सेलका प्रहरी सहायक निरीक्षक सन्जय यादबले जानकारी दिनुभयो । उहाँले श्रीमती र शिशुलाई बेवारिसे अवस्थामा निजगढको जंगलमा ल्याएर छोडने पती गुड्डु सिंहमाथि कानुनी कारबाहीको लागि पनि जिल्ला प्रहरी कार्यालयको तर्फबाट मोतिहारीको हारना थानामा पत्राचार गरिएको पनि जनकारी दिनुभयो ।प्रहरीका अनुसार गुड्डुले छोटीकुमारीलाई डेढ वर्षअघि भगाएर दोस्रो विवाहा गरेका थिए । त्यसपछि दुबै जना भारतको जयपुरमा बस्दै आएकोमा बच्च जन्मिएपछि गुड्डुले मोतिहारी घरमा लैजान्छु भनेर आमा र शिशु दुबैलाई नेपालमा ल्याएर बेहोस पारेर जंगलमा छोडेको पाइएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिनुभयो ।गत मंगलवार निजगढ पूर्वको धन्सार पुल नजिक सडक किनारामा बेवारिसे अवस्थामा शिशु फेला पारेको निजगढ प्रहरीले भोलिपल्ट आमा छोटीलाई पनि बेवारिसे अवस्थामा नै फेला परेपछि दुबैलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । उनीहरुलाई ३ दिनसम्म प्रादेशिक अस्पताल कलैयामा चिकित्सकको निगरानीमा राखिएको थियो ।



















