वीरगञ्ज । पर्साको ग्रामिण भेगमा भारतसँग जोडिएको सिमा क्षेत्रबाट प्रहरीले ठूलो परिणाममा लागूऔषधसहित एउटा बसको चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।जिल्लाको छिपहरमाई गाउँपालिका– ५ भिस्वास्थित नेपाल–भारत सिमानाकाबाट प्रहरीले प्रदेश–०३–००१–ख–१८१० नम्बर भएको देवी ट्राभल्स बसबाट लागूऔषधसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।यात्रुलाई लिएर काठमाडौँ जान लागेको यात्रुवाहक बसमा लागूऔषध लुकाएर राखिएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यलय पोखरियाबाट खटेको प्रहरी टोलीले सिमानाका नजिकै पार्किङ गरेर राखिएको बसमा गएर चेकजाँच गर्दा बसको डिक्कीमा प्लास्टिकको बाल्टीमा कागजले बेरेर राखिएको अवस्थामा लागूऔषध फेनरागन ५ सय पिस, डाइजेपाम ५ सय पिस र नोर्फिन ५ सय पिस बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।प्रहरीले लागूऔषध ओसारपोसारको आरोपमा बसका चालक दोलखाको भिमेश्वर नगरपालिका– ८ निवासी ४२ वर्षिय दुर्गाराज खत्री र सहचालक पर्साको धोबिनी गाँउपालिका– ४ निवासी नुरेश मियाँ तेलीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिनुभयो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।