सिमरा,बाराको चारकोसे झाडीको जंगलमा रहेको सहजनाथ मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गर्दै रोट्रयाक्ट क्लब अफ सिमराले सोमवार निःशुल्क प्राथमिक उपचारका साथै पानी तथा जुस वितरण शिविरको आयोजना गरेको छ ।साउनको अन्तिम सोमवार मन्दिर दर्शनका लागि आएका दर्शनार्थीका लागि क्लबले प्राथमिक उपचार शिविरको आयोजना गर्दै पानी तथा जुस निःशुल्क वितरण गरेको हो ।एभरग्रिन तराई सिमरा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरबाट करिब एक हजार दर्शनार्थीले सेवा लिएको क्लबका अध्यक्ष विवेककुमार साहले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गबाट मन्दिर प्रवेश गर्ने द्धारमा आयोजित शिविरमा सयौं दर्शनार्थीको प्राथमिक उपचार साथै करिब एक हजार जनालाई जुस तथा पानी वितरण गरिएको साहले बताउनुभयो ।सामाजिक गतिविधिमा सक्रिय रहदै आएको क्लबले क्लबका सदस्यबाट रकम जुटाएर कार्यक्रमको आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग गरेको एभरग्रिन तराई सिमरा अस्पतालका हेल्थ असिस्टेन्ट केशव ठाकुर, क्लबकी प्रतिमा खड्का, संजित चौरसिया, सुभम झा, किशोर ढकाल, सुमन सिंहलगायत सहभागी थिए ।त्यसैगरी सहजनाथ मन्दिर क्षेत्रबाट अभिभावकसंग छुट्टिएका एक बालकलाई उद्धार गरी क्लबका सदस्यले परिवारको जिम्मा लगाएका छन् । दर्शनार्थीको भिड्मा हराएर अभिभावक खोज्दै हिडेका ६ वर्षीय रोहित सर्राफलाई उद्धार गरी परिवारको परिवारको जिम्मा लगाएको क्लबका अध्यक्ष साहले बताउनुभयो ।बराको महागढीमाई नगरपालिका ३ का रोहित आफ्नो बुवा राकेश सर्राफसहित परिवारका सदस्यसंग मेला हेर्न आएका थिए । दर्शनार्थीको भिड्बाट हराएका बालकको खोजी भईरहेको सूचना पाएपछि क्लबका सदस्यले अभिभावक पहिचान गरेर बालकलाई परिवारको जिम्मा लगाएको हो ।

Leave a Reply