जनकपुरधाम, बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या गरेको आरोपमा एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने भारत बिहारको बेतिया नरकटियागञ्ज थाना केयुनियाका २० वर्षीया प्रेम भगत छन् । उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका छन् ।प्रेमले कान्छी आमा ३९ वर्षीय मीरा देवी भगतको टाउकोमा काठको मुंग्रोले हिर्काएर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । उहाँका अनुसार शनिवार दिउँसो बासीभात खाने विषयमा विवाद भएको थियो । आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै सौतेनी आमाको टाउकोमा प्रहार गरेका थिए ।मीरादेवीको घटनास्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका प्रेमले आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए ।‘बासीभात खान्न बरु होटलमा खान्छु’ भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि धक्का दिँदा आमा लडेको र उठेर काठको चिरपटले हान्न खोजेपछि आफूले खोसेर पीठ्यूमा हान्न खोजे पनि टाउकामा लागेको प्रहरीसमक्ष बयानमा स्वीकार गरेका छन् ।सौतेनी आमा र छोराको बेला बेला झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ ।पक्राउ गरेका युवक र जल्न बाँकी कपडासहितका प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताउनुभयो ।

Leave a Reply