कलैया,बाराको कलैयामा मापदण्ड विपरित संचालनमा रहेका २ वटा उद्योगलाई जिल्ला प्रशासन कार्यालय बाराको अनुगमन टोलीले जरिवाना गरेको छ ।मापदण्ड विपरित खाद्य सामग्री उत्पादन गरेर बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय बाराको अनुगमन टोलीले सोमवार कलैया उपमहानगर वडा नम्बर १८ मोतिसरमा संचालित खुश्बु पाउरोटी उद्योगलाई एक लाख र कलैया– ६ कृषि बजारमा सञ्चालित प्रेम कुल्फी एण्ड आइसक्रिम उद्योगलाई ७० हजार रुपैयाँ जरिवाना गरेको हो ।
पाउरोटी उद्योगले मापदण्ड विपरित कारखानाको सरसफाइ नगरेको र कच्चा पदार्थको भण्डारणको अवस्थासमेत संतोषजनक नरहेको तथाप्रेम कुल्फी एण्ड आइसक्रिमले इजाजत पत्र बिना नै उद्योग संचालन गरेको, आइसक्रिमा लेवल नराखेको, कारखानाको सरसफाइ र अन्य मापदण्डसमेत पुरा नगरेको पाइएपछि जरिवाना गरिएको अनुगमन टोलीका प्रमुख तथा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो ।
अनुगमन टोलीलेदुबै उद्योगलाई सात दिनभित्र उद्योगको सबै कागजातसहित खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जमा उपस्थित हुने निर्देशन पनि दिइएको छ ।त्यसैगरी टोलीले कलैया उपमहानगर–६ मा दर्ता बिना संचालित लक्की कुल्फी मलाई र प्रेम कुल्फी मलाई उद्योगलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बारामा सम्पर्क गर्न निर्देशन दिएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय प्रमुख देबेन्द्र कुमार झा,गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका निरीक्षक हरिभजन त्रिपाठी,वाणिज्य कार्यालय वीरगञ्जका प्रतिनिधि मधुरेशप्रसाद साह,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रतिनिधि,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्नबहादुर स्याङतान र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक प्रकाश खड्का,उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।


















