वीरगञ्ज,पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक वृद्धा महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा जिल्ला जीराभवानी गाउँपालिका– ४ की ७० वर्षीय केशरजिया देवी थरुनी रहेकी छन् ।
आइतबार राती प्रदेश २–०३–००१ त ५५५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा थरुनीको घटना स्थलमै मृत्यु भएको हो ।पर्सागढी नगरपालिका– ३ मा लागेको आमोदेवी मन्दिरमा मेला हेरेर घर फर्किने क्रममा आइतबार राती ११ बजेको करिबमा पर्सागढी– २ स्थित बरवाछोटैली गाउँ नजिकै ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा थरुनीको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । थरुनीको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ ।
दुर्घटना पश्चात् ट्याक्टर चालक भने फरार भएका थिए । उनलाई प्रहरीले पर्सागढी कै बढनियारबाट नियन्त्रणमा लिएको छ ।ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएपछि ट्र्याक्टर धनी श्यामबाबु चौरसिया भने सम्पर्कविहीन भएका छन् । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ ।

















