निजगढ,निजगढ नगरपालिककाका नगर प्रमुख सुरथ पुरीले निजगढ नगरपालिकाका किसानहरुलाई बीमा कार्यक्रम अपरिहार्य रहेको बताउनुभएको छ ।नेपाल बीमा प्राधिकरणको आयोजनामा निजगढ नगरपालिकामा आइतवार भएको बीमा सम्बन्धि एक दिने अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख पुरीले किसानको हकहित कायम गर्न र जीवनस्तर उकास्न बीमा कार्यक्रमलाई जोड्दै अगाडि बढ्ने बताउनुभएको हो ।उहांँले निजगढ नगरपालिका कृषि त्यसमा पनि केरा खेतीमा प्रसिद्ध रहेको बताउदै यहाँका सबै किसानका लागि बीमा कार्यक्रम आवश्यक भएकोले बीमाको सुविधाका लागि आफूले पहल गर्ने बताउनुभयो । उहांँले स्थानीय तह, बीमा प्राधिकरण, बीमा कम्पनी र किसान एक अर्काका परिपुरक रहेको बताउदै सबै पक्ष मिलेर किसानले लगाएको बालीको सुरक्षाको लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा फलफूल तथा केरा उत्पादक संघ बाराका अध्यक्ष एकबहादुर श्रेष्ठले केरा किसानका लागि बीमा अति आवश्यक रहेकोले बीमा कम्पनीले सहज रुपमा किसानको बालीको बीमा गर्नुपर्ने र समयमै बीमा दाबी भुक्तानी दिन पर्नेमा जोड दिनुभयो ।यस्तै बीमा कम्पनीको तर्फबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिमरा शाखा प्रमुख श्रीराम रेग्मीले आफूहरु किसानले लगाउने बाली तथा पशुको बीमा गर्न तत्पर रहेको बताउनुभयो । उहाँंले बारा जिल्लाको कृषि बीमाका लागि हिमालयन एभरेष्टलाई प्राधिरणले छुट्याएकोले निजगढका केरा किसान तथा अन्य किसानको बीमा आफूहरुले गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताउनुभयो ।कार्यक्रममा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा, निजगढ नगरपालिकाका विभिन्न बडाका बडा अध्यक्ष, स्थानीय अगुवा कृषक र बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश कार्यालयकी प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुति दिनुभएको थियो । मधेश प्रदेश कार्यालयका अनिश तिमिल्सिनाको स्वागत रहेको कार्यक्रमको सहजीकरण बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply