कृष्ण मोहन साह
सेढवा,पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर १ भिखमपुरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार दुई पक्षबीच झडप भएको छ । झडपमा दुई जना शिक्षकसहित पाँच जना घाइते भएकाछन् ।घटनापछि आक्रोशित स्थानीयले केही शिक्षकलाई कालो मोसो दल्नुका साथै विद्यालयभित्र रहेका फर्निचरहरू तोडफोड गरेको जनाइएको छ ।
प्राप्त जानकारीअनुसार घटनाको मुख्य कारण सामाजिक सञ्जालमा अपलोड गरिएको एक अश्लील भिडियो रहेको छ । माघ ९ गते शुक्रबार सरस्वती पूजाको राति पूजा व्यवस्थापन समिति र विद्यालय प्रशासनको सहमतिमा विद्यालय परिसरमै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा तेस्रो लिंगी समूहलाई आमन्त्रण गरिएको र उनीहरूसँग अश्लील गीतमा अश्लील प्रदर्शन तथा अनैतिक क्रियाकलाप भएको आरोप स्थानीयले लगाएका छन् ।
सो कार्यक्रमका दृश्यहरू भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट भएपछि स्थानीय बासिन्दा तथा अन्य विद्यार्थीहरूको समूह आक्रोशित बनेको बताइएको छ ।विद्यालय प्रशासनको लापरवाहीका कारण यस्ता गतिविधि भएको भन्दै उनीहरूले विरोध जनाउँदा स्थिति तनावग्रस्त बनेर झडपको रूप लिएको हो ।घटनापछि सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाइएको छ । यस विषयमा विद्यालय प्रशासन तथा स्थानीय प्रशासनबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















