कलैया, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले तनहुँ र चितवनमा शानदार जित हात पार्दा बारा क्षेत्र नम्बर २ मा भने जमानत जफत भएको छ । बारा क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको हो ।उम्मेदवारले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । खरेलले भने दुई हजार आठ सय २९ मत प्राप्त गर्नुभएको थियो । उक्त मत कुल सदर मतको ४.१५ प्रतिशत मात्र हो ।बैशाख १० गते सम्पन्न निर्वाचनमा खसेको कुल ६९ हजार २२ मतमध्ये ६८ हजार एक सय ९२ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत गरिन्छ ।खरेलसंगै बारामा उम्मेदवारी दिएका अन्य ३० उम्मेदवारको पनि जमानत जफत भएको छ । बारा २ मा १२ जनाले राजनीतिक दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका ३४ उम्मेदवारमध्ये जसपा, जनमत र एमालेले मात्रै १० प्रतिशत मत कटाएका छन् ।जसपाका अध्यक्ष यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्दै निर्वाचित हुँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय चौतिस मत प्राप्त गर्नुभयो । यसैगरी एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत पाउनुभयो ।यादव, कुशवाहा र पौडेल बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुने अन्य उम्मेदवारमा आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेली, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारी, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारुल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमारलगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here