निजगढ,मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले वन सरक्षणमा सामुदायिक वन समुहहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
सामुदायिक वन दिवस २०७९ का अवसरमा निजगढ नगरपालिका ४ को मोहोरी पार्कमा बुधवार आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा बोल्दै सचिव घिमिरेले सो कुरा बताउनुभएको हो । आज देशको वन क्षेत्रमा भएको वृद्धि र जैविकविविधता संरक्षणमा देखिएको प्रगति सामुदायिक वनकै कारण शंभव भएको भन्दै सचिव घिमिरेले वन संरक्षणमा योगदान गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो ।
सचिव घिमिरेले सरकारी प्रयासबाट मात्र जैविक विविधता संरक्षणको कार्य प्रभावकारी हुन नसक्ने भएकोले सामुदायिक स्तरसंगै हरेक व्यक्तिले पनि यसमा योगदान गर्नुपर्ने बताउनुभयो । वन जंगल मानिसको जीवनसंग प्रतक्ष्य रुपमा जोडिएकोले यसको संरक्षणमा महत्व दिनुपर्ने उहाँको भनाइ छ ।
वन संरक्षणको क्रममा केही सामुदायिक वनका सदस्यहरुले समस्या बेहोर्नु परेको समस्याप्रति इङ्गित गर्दै उहाँले समुहभित्र पारदर्शिताको अभावमा त्यस्ता समस्याहरु उत्पन्न हुने गरेको पनि बताउनुभयो । उहाँले वन संरक्षणकर्मीहरुबीच पनि केही समस्याहरु हुनसक्छन । ‘पारदर्शिताको अभावमा त्यस्ता समस्याहरु उत्पन्न भएका हुनसक्छन । ‘सबैभन्दा पहिले समुहभित्र पारदर्शिता हुनुपर्छ, सचिव घिमिरेले भन्नुभयो, सबैलाई जानकारी दिएर काम गरियो भने त्यस्ता समस्या आउदैनन ।’
सामुदायिक वन सीकाइको विद्यालय पनि भएको भन्दै उहाँले समुहले मिठा नमिठा धेरै कुरा भोग्दै आएको छ र त्यस्ता घटनाबाट सिक्दै समुहलाई थप परिष्कृत गर्दै अगाडि बढनुपर्ने बताउनुभयो । वन स्रोतको परिचालन र बाँढफाँडमा पनि पारदर्शिता हुन जरुरी रहेका सचिव घिमिरेको भनाइ छ ।
वन संरक्षणमा समुहलाई सहयोग गर्न मधेस प्रदेश सरकार तयार रहेको बताउदै उहाँले समय सापेक्ष ऐन कानुन बनाउने र सरकारसंग भएको स्रोत साधन र जनशक्ति परिचालनमा वन समुहहरुलाई प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश वन निर्देशक जग्गनाथ जैसवाल, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य भरत घले, महासंघ मधेस प्रदेश अध्यक्ष सोमप्रसाद शर्मा, डिभिजन वन कार्यालय सिमराका निमित्त प्रमुख रामगणेश साह, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समतिका अध्यक्ष सुर्दशन कोइराला, बकैया नागमणी सामुदायिक वन समुहकी दुर्गा कोइरालालगायतले वन संरक्षणमा देखा परेका समस्याको बारेमा बोल्नुभएको थियो ।
सो अवसरमा मोहोरी पार्कमा विभिन्न प्रजातिका २ सय विरुवा रोपिएका छन । सामुदायिक वन दिवसको अवसरमा बारा जिल्लामा करिव ५ हजार विरुवा रोपिने महासंघ बाराका अध्यक्ष बजगाईले जानकारी दिनुभयो । सामुदायिक वन महासंघ लगायत विभिन्न संघसंस्थाहरुले मंगलवारबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी सामुदायिक वन दिवस मनाउदै आएका छन ।