मनोेज शाह
जीतपुर,पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– ३२ बन्दनगरमा हिजो दिउँसो करिब १ बजे हतियारधारी समूहले घरमै प्रवेश गरी एक महिलामाथि निर्घात कुटपिट गर्दै नगद ६ लाख २५ हजार रुपैयाँ लुटेर फरार भएको छ ।
पीडित महिलाका अनुसार आक्रमणकारीहरूले “सन्दिप कहाँ छ ?” भन्दै टाउकोमा बन्दुक राखेर धम्क्याएका थिए । उनीहरूले चुप लाग्न दबाब दिँदै कुटपिट गर्दा टाउको, घाँटी लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घरधनी सन्दिप शाहका अनुसार केही दिनअघि पर्साको जगदम्बा सिमेन्ट अगाडि भएको झगडाको रिसिइबीका कारण यस्तो घटना भएको हो । उहाँले बजरङ्गी पासवानले सार्वजनिक रूपमा “घरमै गएर पिट्छु, गोली हान्छु, जहाँ भेटे पनि छोड्दिन” भन्दै धम्की दिँदै आएको दाबी गर्नुभएको छ ।

सन्दिपका अनुसार अमर यादव लगायतसँग मिलापत्रको प्रयास भए पनि सफल हुन नसकेपछि आक्रमण भएको हो । घरमा रहेको दराज तोडफोड गरी नगद रकम लुटिएको उहाँले बताउनुभयो । यता ट्रक साहु अमर यादवले आफूले सम्बन्धित व्यक्तिलाई कामबाट हटाइसकेको र उसले केही दिनअघि ५० हजार रुपैयाँ माग्दै आएको बताएका छन् ।
साथै, सन्दिपमाथि आक्रमण गराउन बाहिरबाट मान्छे बोलाइएको हुनसक्ने उहाँको भनाइ छ । घटनापछि स्थानीयहरू त्रासमा रहेका छन् । जिल्ला प्रहरी कार्यालयले जाहेरी आएपछि दोषीको खोजी तीव्र बनाइने जनाएको छ ।


















