कलैया,बारा जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका सबै सरकारी तथा सार्वजनिक जग्गाको विवरण संकलन गर्ने प्रक्रिया थालेको छ ।जिल्ला प्रशासन कार्यालय, बाराले बुधवार एक पत्रमार्फत भूमिसुधार तथा मालपोत कार्यालय कलैया, मालपोत कार्यालय सिमरा र सिम्रौनगढलाई आफ्ना कार्यक्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गाको कित्ता नम्बर, क्षेत्रफल तथा हालको अवस्थासहितको विवरण यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
पत्रमा भनिएको छ, “उक्त विवरण जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध गरिन्छ ।” यस कार्यका लागि नापी कार्यालयहरू— कलैया, सिमरा र सिम्रौनगढलाई समेत वोधार्थ पठाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छत्रिरमण भट्टराईले हस्ताक्षर गरेको उक्त पत्रमा मुलुकी देवानी संहिता २०७४ को दफा ३०२ को उपधारा २, ३ र ४ अनुसार अघि बढाइएको सो कार्यको लागि आवश्यक सहयोग र सहजीकरणका लागि स्थानीय तहहरूसंग पनि आग्रह गरिएको छ ।यस अभियानले जिल्लाभित्र रहेका अतिक्रमणमा परेका वा व्यवस्थापन आवश्यक रहेका सरकारी तथा सार्वजनिक जग्गाको यथार्थ स्थिति उजागर गर्ने विश्वास गरिएको छ ।



















