काठमाडौं। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याउनेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएको छ।

त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारण बनाएको छ।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको महासंघको आरोप छ। पत्रकारका पेसागत तथा श्रमसम्बन्धी अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै महासंघले आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइने कार्यक्रम छ।

त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल ९पापड० सँग छलफल गरिनेछ। मंसिर ७ गते देशभरका जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन्।

आन्दोलनको थप सशक्त कार्यक्रमअन्तर्गत मंसिर ९ गते सबै जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भेला भएर प्रदर्शन गरिने महासंघले जनाएको छ। उक्त प्रदर्शनमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित सहभागी हुने कार्यक्रम तय गरिएको छ।

महासंघले घोषित कार्यक्रमबाट पनि माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।

पत्रकार महासंघका आन्दोलनका कार्यक्रम

मंसिर २ गते : प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने।

मंसिर ५ गते : संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने।

मंसिर ५ र ६ गते : पापडसँग छलफल गर्ने।

मंसिर ७ गते : जिल्ला शाखामार्फत सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने।

मंसिर ९ गते : देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गर्ने।

Leave a Reply