काठमाडौँ । मधेस सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जनता समाजवादी पार्टी, नेपाल मधेसका संसदीय दलका नेता एवं मधेसका पूर्वमुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णयअनुसार विपक्षी दलहरूले संयुक्त रूपमा प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विपक्षी दलहरूले संयुक्त रूपमा बुझाएको ध्यानाकर्षण पत्रमा किसानका लागि राहत प्याकेजको माग, किसानको ऋणमा सहुलियतका लागि सङ्घ सरकारसँग पहल गर्न माग, सिँचाइको तत्काल उचित प्रबन्ध, सतही सिँचाइ तथा भूमिगत जलश्रोतको प्रबन्ध मिलाउन नदी, नाला, पोखरी लगायतका जलाशयहरूको मर्मत सम्भार तथा नयाँ जलाशय निर्माण, चुरेको वन संरक्षणमा ध्यान पुर्‍याउनु पर्ने, खानेपानीको उचित प्रबन्ध मिलाउन माग गरिएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री सतिशकुमार सिंहले विपक्षी दलहरूले बुझाएको ध्यानाकर्षण पत्रलाई आफूहरूले सरकारसँगको ऐक्यबद्धताको रूपमा लिएको र यसलाई सकारात्मक रूपमै लिएको बताए । उनले सरकार सिँचाइ तथा खानेपानीको समस्या हल गर्नका लागि गम्भीर रहेको बताए ।

पछिल्लो समय सिँचाइको समस्याले धान उत्पादनमा ह्रास आइरहेको र धानको उत्पादन घट्दा किसानलाई उत्पादनको हिसाबले फाइदा पुग्ने गरी अर्को बालीको विषयमा समेत आफूहरू गम्भीर रहेको बताए ।

ध्यानाकर्षण पत्र बुझाउनका लागि जसपा, नेपालको तर्फबाट सरोज यादव, नेकपा (माओवादी केन्द्र) को तर्फबाट युवराज भट्टराई, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट कनिष पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कञ्चन विच्छा र नेपाल सङ्घीय समाजवादी पार्टीको तर्फबाट विमला अन्सारी तरन्नुम उपस्थित थिए ।

Leave a Reply